बालेनको राजनीतिक व्यस्तता, नयाँ अध्यायको सुरुवात ?


काठमाडौं । बालेनले ‘राजनीति गर्छन् कि गर्दैनन्’ भन्ने केही समयअघि देखिको प्रश्नका बीच बिहीबार बिहानैदेखि ललितपुरको ज्वागलमा रहेको एक घरमा सबैको ध्यान केन्द्रित भयो । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह साथी कुमार बेनको घरमा अड्डा कसेर बसेका छन् र उनलाई भेट्न पूर्वप्रधानमन्त्री देखि पूर्वउपप्रधानसहित जेनजी नेताहरुसमेत पुगिरहेका छन् ।

फागुन २१ को निर्वाचन केन्द्रित रहेर बालेन केही दिनयता सक्रिय बनेका छन् । प्राय:सामाजिक सञ्जालबाट मात्र आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने बालेन यतिबेला सबैसँग भेटघाट र छलफलमा ब्यस्त भएका हुन् । उनको भेटघाटले एउटा स्पष्टता दिएको छ, त्यो हो राजनीतिक दलमा बालेनको सक्रियता र संसदीय यात्रा ।

जेनजी आन्दोलनपछिको रिक्तताको अवस्थामा धेरैले देशको बागडोर बालेनले सम्हालुन् भन्ने चाहेका थिए । तर सर्वसाधारण र जेनजीको माग अनुसार उनी मैदानमा उत्रिएनन् । बरु आफ्नो योजना अनुसार देशलाई अघि बढाए । सुशीला कार्की प्रधानन्त्री देखि संसद विघटनसम्म उनकै एजेन्डा थिए जसमा देश अघि बढिरहेको छ । अवसर र असहजतामा देशको नेतृत्व नलिएको भन्दै उनको आलोचना भइरहँदा कतिपयले उनी राजनीतिक दलमा नलाग्ने तर्क गरेका थिए । ‘लुसिफर’को ट्याग समेत उनले खेपे ।

सामाजिक सञ्जालबाट मात्र आफ्ना धारणा राख्ने बालेन रवि लामिछाने अदालतको आदेशमा रिहा भएपछि लामिछानेसँग ६ घण्टा लामो राजनीतिक संवादमा जुटे । धेरैले रवि, बालेन, कुलमान लगायतका एक भएर अघि बढ्नु पर्ने भन्दै मत जाहेर गरे ।

स्थानीय सरकारको नेतृत्व गरिरहेका बालेनले अब देशकै बागडोर सम्हाल्ने गरि ‘म्याराथन मिटिङ’ गरिरहेका छन् । उनको यो सक्रियताबाट केही नयाँ आउने अपेक्षा आम रुपमा देखिएको छ ।

बिहीबार बिहानदेखि चलिरहेको कुपन्डोलस्थित घरको मन्थनले नेपाली राजनीतिमा नयाँ हलचल पैदा गरिदिएको छ।

बिहीबार भेटको सुरुवात बालेनले ऊर्जामन्त्री कुलमान घिसिङसँगबाट गरे । उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा होमिएका कुलमान र बालेनबीचको सहकार्यको सम्भावना उच्च रहेको बताइएको छ । घिसिङले आजै पार्टी कार्यलय उद्घाटनमा व्यक्त गरेको विचारले पनि त्यसलाई बल प्रदान गरेको छ । उनले नयाँ शक्तिहरू एक ठाउँमा उभिने बताए ।

कुलमान र बालेन एउटै पार्टी र चुनाव चिह्नबाट चुनाव लड्ने विषयमा सहमति नजिक पुगेको स्रोतको दाबी छ ।

कुपण्डोलको म्याराथनमा सबैभन्दा रोचक भेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भयो । रविले बालेनलाई ‘प्रधानमन्त्रीको उम्मेदवार’ बन्न प्रस्ताव गरिसकेका छन् । तर, बालेन सजिलै कसैको प्रस्तावमा मात्र पग्लिएका छैनन् । उनले आफ्नै नेतृत्वमा १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने र समानुपातिकको बलियो सूची बनाउने तयारी थालेका छन् ।

बिहीबारको भेटपछि बाहिरिएका रविले छलफलको निष्कर्ष ‘समयले बताउने’ जवाफ दिए । उनीहरूबीच आजै राति फेरि भेटवार्ता हुने तय भएको जनाइएको छ ।

बालेनको यो अभियानमा अमरेशकुमार सिंहदेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्म जोडिए । अमरेशसँगको दोस्रो चरणको वार्ता र बाबुरामसँगको राजनीतिक संवादले बालेनले केवल युवाहरूको मात्र होइन, पाका र अनुभवी राजनीतिज्ञहरूको पनि साथ खोजेको देखिन्छ।

बालेनले नेपाली कांग्रेसका नेता सुनील शर्मासँग पनि भेटघाट र छलफल गरे । शर्मा नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।

यति मात्र होइन बालेनले जेनजी पुस्ताका प्रतिनिधिहरू सुधन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतसँग पनि छलफल गरे ।
त्यसक्रममा बालेनले आफू पार्टी राजनीतिमा आएको भन्दै जेनजीहरूसँग सहकार्यको प्रस्तावसमेत गर्दै सबैलाई एक भएर आउन आग्रहसमेत गरे । उनले यसलाई नयाँ अध्यायको रुपमा अर्थ्याए ।

उनले आफू एकजनाले एउटा क्षेत्र जितेर मात्र परिवर्तन नआउने भन्दै बाँकी क्षेत्रमा जित्ने गरि अघि बढ्न आवश्यक भएको बताएका छन् ।

निर्वाचन आयोगमा पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने समय नजिकिएकाले बालेन सक्रियताका साथ घन्टौं छलफलमा बसेका हुन् ।

देश विकास पार्टीको ‘लौरो’ चिह्न लिएर अघि बढेका बालेनले पुराना दलका असन्तुष्ट अनुहार र नयाँ आकांक्षीहरूलाई समेत एउटै प्लेटफर्ममा ल्याउने कसरत गरिरहेका छन् । ज्ञानेन्द्र शाही, सीके राउत, रेशम चौधरी र डा. भगवान कोइराला जस्ता पात्रहरूसँगको संवादले बालेनले एउटा ‘राष्ट्रिय शक्ति’ निर्माण गर्न केन्द्रीत रहेको देखिएको छ ।