घोराही सिमेन्टको आईपीओ निष्कासनमा बोर्ड अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको छानविन गर्न माग



काठमाडौं । घोराही सिमेन्ट उद्योगको साधारण सेयर (आईपीओ) निष्कासनमा धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै छानविन गर्न माग गरिएको छ ।

आईपीओमा अध्यक्ष हमालमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै स्वतन्त्र पुँजी बजार सुधार संघले छानविन गर्न माग गरेको छ ।
‘सेबोनका अध्यक्ष रमेश हमालले घोराही सिमेन्ट उद्योगको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा भ्रष्टाचार गरेको आरोपमा शंकाको घेरामा रहेको जानकारीमा आएको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘घोराही सिमेन्ट इण्डस्ट्रिजको आईपीओ स्वीकृती प्रक्रियामा भएको जालझेल, आईपीओको लागी आवेदन पेश गरेको मिति देखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमाल विरुद्ध आरोप लाग्दै आएको थियो ।’

बोर्ड अध्यक्ष हमाल विरुद्ध लगाइएको भ्रष्टाचारको आरोपले सेबोनको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको र यसले पुँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त कम्पनीको प्रारम्भिक नियमित आईपीओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आईपीओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? भन्दै प्रश्न गरिएको छ ।

यी आरोपहरूको गहिरो छानविन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न सम्बन्धित निकायलाई संघले जोडदार माग गरेको छ ।

सेबोनले लगानीकर्ताको विश्वास स्थापित गर्न र आईपीओ स्वीकृति प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न तत्काल कदम चाल्न अनुरोध गरेको छ ।

नेपालको धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको सेबोन, पुँजीबजारमा पारदर्शिता सुनिश्चित गर्न र लगानीकर्ताको विश्वास कायम राख्न नसकेको उल्लेख छ ।


क्लिकमान्डु