
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरायललाई गोलीबारी बन्द गर्न आह्वान गरेपछि इरानले सोमबार तेल अभिभ विरुद्धको आफ्नो सैन्य कारबाही स्थगित गरेको घोषणा गरेको छ ।
तर, इजरायलले लेबननमा आक्रमण जारी राखेमा अझ कडा प्रहार गर्ने चेतावनी उसले दिएको रोयटर्सले जनाएको छ । दुई महिनाअघि युद्धविराम सुरु भएयता दुवै देशले एकअर्काको भूभागमा आक्रमण गरेको यो पहिलोपटक हो ।
इजरायलमाथिको आक्रमण स्थगित गर्दै इरानको सशस्त्र बलले तेल अभिभको सत्ता र यसका समर्थकहरूले पाठ सिक्नुपर्छ भनेको छ ।
‘सोही अनुसार, सशस्त्र बलको कारबाहीलाई यसद्वारा रोकिएको घोषणा गरिन्छ,’ इरानी सरकारी सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् ।
इजरायललाई चेतावनी दिँदै इरानी सेनाले भनेको छ, ‘तर, दक्षिणी लेबनन सहितका क्षेत्रमा आक्रमण र दुस्साहस जारी रह्यो भने पहिलेको भन्दा अझ कडा र विनाशकारी कारबाही गरिनेछ ।’
‘इजरायली र अमेरिकीहरूले नियन्त्रित तनाव मार्फत इरान र रेसिस्टेन्स फ्रन्टलाई उनीहरूका अपराधहरूका सामु अनुमानयोग्य बनाउन सकिन्छ वा इरानको प्रतिक्रियाको प्रकारलाई सीमित गर्न सकिन्छ भन्ने सोच्छन् भने उनीहरूले एउटा मूर्खतापूर्ण गल्ती गरिरहेका छन्,’ तस्निम समाचार एजेन्सीले इरानी सैन्य स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
यसअघि ट्रम्पले इरानको आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासमा बाधा पुर्याउने बताउँदै तेहरानलाई वार्तामा फर्कन आग्रह गरेका थिए ।
‘यसले पक्कै पनि सहयोग पुर्याउने छैन,’ ट्रम्पले फक्स न्यूजलाई भने, ‘उनीहरू वार्ताको टेबुलमा फर्कनुपर्छ र सम्झौता गर्नुपर्छ ।’
वाशिङटनले इरानसँग गर्ने कुनै पनि सम्झौतालाई इजरायलले स्वीकार गर्नुपर्ने हुनसक्ने पनि उनले बताए । ‘सबै निर्णय म नै गर्छु,’ ट्रम्पले द फाइनान्सियल टाइम्सलाई भने । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुनै विकल्प हुने छैन भनी उनले थपे ।
एक्सियोससँगको अर्को कुराकानीमा ट्रम्पले इजरायललाई जवाफी कारबाही नगर्न आफूले सल्लाह दिने बताए ।









प्रतिक्रिया