लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ निष्कासन



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर आईपीओ आजदेखि निष्कासन गरेको छ ।

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा १ लाख ७४ हजार १२० कित्ता कम्पनीका कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर जारी गरेको छ । ३५ लाख २५ हजार ९३० कित्ता सेयर भने सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ‘आइआरएन बी प्लास’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नुपूर्व नै यसको चर्चा निकै चुलिएको छ । चर्चा हुनुको मुख्य कारण कम्पनीको वित्तीय अवस्था नै हो । लामो समयदेखि नोक्सानमा रहेको, कम्पनीमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको र तलब पाऊँ भन्दै पटक-पटक कर्मचारीले आन्दोलन गरेको कम्पनीले आईपीओ निष्कासन गर्न थालेपछि यसबारे आमचासो हुनु स्वाभाविक नै हो।

कम्पनीले प्रकाशित गरेको विवरण पत्र हेर्दा अझै लामो समय सेयरधनीले लाभांश पाउने सम्भावना छैन । विगत ३ आर्थिक वर्षदेखि नोक्सानमा रहेको कम्पनी अझै ३ वर्ष नाफामा जान सक्ने अवस्था देखिँदैन ।

रिपब्लिक मिडिया आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ नोक्सानमा छ । आव २०७९/८० को असार मसान्तसम्म कम्पनी नाफामा जाने सम्भावना छैन । नोक्सान भने केही घटाएर ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

आगामी २ वर्षसम्म पनि कम्पनी नाफामा नजाने देखिन्छ । कम्पनीले गरेको प्रक्षेपण हेर्ने हो भने आगामी आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ नोक्सानीमा रहनेछ भने आव २०८१/८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ नोक्सानमा रहने प्रक्षेपण गरिएको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि चालू आवको चैत मसान्तसम्ममा ७ रुपैयाँ २२ पैसा छ । आवको अन्त्यसम्ममा १ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ ।

यस्तै आव २०८०/८१ मा ५ रुपैयाँ ५५ पैसा र आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा हुने प्रक्षेपण छ । अहिले प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेको कम्पनीबाट आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा आम्दानी हुने देखिन्छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवको चैत मसान्तसम्म ८६ रुपैयाँ १३ पैसा छ । आवको अन्तिमसम्ममा ९९ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै आव २०८०/८१ मा १०७ रुपैयाँ ९४ पैसा र आव २०८१/८२ मा १२० रुपैयाँ ४१ पैसा रहने प्रक्षेपण गरिएको छ ।


क्लिकमान्डु