लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ



काठमाडौं । नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशन गृह)ले अहिले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिएपछि सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्नुपूर्व नै यसको चर्चा निकै चुलिएको छ । चर्चा हुनुको मुख्य कारण कम्पनीको वित्तीय अवस्था नै हो । लामो समयदेखि नोक्सानमा रहेको, कम्पनीमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको र तलब पाऊँ भन्दै पटक-पटक कर्मचारीले आन्दोलन गरेको कम्पनीले आईपीओ निष्कासन गर्न थालेपछि यसबारे आमचासो हुनु स्वाभाविक नै हो ।

कम्पनीले प्रकाशित गरेको विवरण पत्र हेर्दा अझै लामो समय सेयरधनीले लाभांश पाउने सम्भावना छैन । विगत ३ आर्थिक वर्षदेखि नोक्सानमा रहेको कम्पनी अझै ३ वर्ष नाफामा जान सक्ने अवस्था देखिँदैन ।

रिपब्लिक मिडिया आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ नोक्सानमा छ । आव २०७९/८० को असार मसान्तसम्म कम्पनी नाफामा जाने सम्भावना छैन । नोक्सान भने केही घटाएर ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

आगामी २ वर्षसम्म पनि कम्पनी नाफामा नजाने देखिन्छ । कम्पनीले गरेको प्रक्षेपण हेर्ने हो भने आगामी आर्थिक वर्ष २०८०/८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ नोक्सानीमा रहनेछ भने आव २०८१/८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ नोक्सानमा रहने प्रक्षेपण गरिएको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि चालू आवको चैत मसान्तसम्ममा ७ रुपैयाँ २२ पैसा छ । आवको अन्त्यसम्ममा १ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ ।

यस्तै आव २०८०/८१ मा ५ रुपैयाँ ५५ पैसा र आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा हुने प्रक्षेपण छ । अहिले प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेको कम्पनीबाट आव २०८१/८२ मा ९ रुपैयाँ ६६ पैसा आम्दानी हुने देखिन्छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवको चैत मसान्तसम्म ८६ रुपैयाँ १३ पैसा छ । आवको अन्तिमसम्ममा ९९ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै आव २०८०/८१ मा १०७ रुपैयाँ ९४ पैसा र आव २०८१/८२ मा १२० रुपैयाँ ४१ पैसा रहने प्रक्षेपण गरिएको छ ।

आव २०७८/७९ मा कम्पनीको सेयर पुँजी ४६ करोड ४ लाख रुपैयाँ छ भने जगेडा तथा सञ्चित कोष ५१ करोड ८ लाख ३७ हजार ४१७ रुपैयाँ ऋणात्मक छ । यो क्रम अझै दुई आर्थिक वर्ष नरोकिने कम्पनीले नै जनाएको छ ।

आव २०७९/८० मा जगेडा कोष तथा सञ्चितमा ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ, आव २०८०/८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ, आव २०८१/८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ ऋणात्मक हुने प्रक्षेपण छ ।

कम्पनीको वित्तीय अवस्थामात्रै नभएर रेटिङले पनि कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता उच्च जोखिम रहेको देखिएको छ । कम्पनीले ‘बी प्लस’ रेटिङ पाएको छ ।

वित्तीय अवस्था कमजोर भएको कम्पनीले आईपीओमार्फत् सर्वसाधारणबाट करोडौं संकलन गरेर आफ्नै जग्गामा आधुनिक बहुद्देश्यीय भवन निर्माण गर्ने योजना बनाएको छ । उक्त कार्य २०८० साउनदेखि सुरु गरी साढे २ वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

यो कम्पनीमा संस्थापकको ५५.००७८ प्रतिशत अर्थात् ५३ करोड २२ लाख र सर्वसाधारणको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ छ । अहिले कम्पनीमा अध्यक्ष विनोदराज ज्ञवालीको ९८.२१ प्रतिशत र कार्यकारी सञ्चालक (विनोदकी श्रीमती) शोभा ज्ञवालीको १.७२ प्रतिशत सेयर छ ।

कम्पनीको सञ्चालकमा विनोदराज ज्ञवाली, शोभा ज्ञवाली, अञ्जनकुमार दाहाल, रोमनाथ र घिमिरे छन् । कम्पनीको उच्च व्यवस्थापनमा रहेका कर्मचारीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद र शोभाकी छोरी समृद्धि ज्ञवाली, प्रधान सम्पादकमा गुणराज लुइँटेल, मार्केटिङ प्रमुखमा अनील बास्कोटा, आर्ट एडिटरमा रविनदास मानन्धर र वितरण प्रमुखमा मदन अर्याल छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा तत्कालीत कार्यकारी अध्यक्ष विनोदराज ज्ञवालीलाई वार्षिक ९० लाख रुपैयाँ र कार्यकारी सञ्चालक शोभा ज्ञवालीलाई ३३ लाख रुपैयाँ तलब भत्ता दिएको छ ।

यस्तै कम्पनीले सीईओ ज्ञवालीलाई आव २०७८/७९ मा २४ लाख, प्रधान सम्पादक लुईटेललाई २१ लाख २१ हजार ६६९ र मार्केटिङ प्रमुख बाँस्कोटालाई वार्षिक १० लाख ८९ हजार ४०१ रुपैयाँ तलब भत्ता दिएको छ ।

कम्पनीका अध्यक्ष विनोदराज, कार्यकारी सञ्चालकसमेत रहेकी श्रीमती शोभा र सीईओसमेत रहेकी छोरी समृद्धि ज्ञवालीले मात्रै वार्षिक डेढ करोड रुपैयाँ बुझेका छन् ।

अहिले नै कम्पनीको आम्दानीभन्दा खर्च धेरै छ । कम्पनीको आम्दानीको मुख्य स्रोत भनेको विज्ञापन संकलन र पत्रिका बिक्री नै हो । विज्ञापन संकलन कम र पत्रिका बेचेर आय नभएका कारण ३ वर्षदेखि नोक्सानमा रहेको कम्पनीले अझै ३ वर्ष नाफा कमाउने र सेयरधनीलाई लाभांश दिने लक्षण देखिँदैन । किनभने, अर्थतन्त्रमा देखिएको संकुचन र पत्रिकाको खुम्चिँदो व्यापारका कारण आगामी दिनमा अझै आम्दानी घट्ने देखिन्छ ।

तसर्थ, यो कम्पनीमा लगानी गर्दा नाफा कमाउनेभन्दा पनि गरेको लगानी गुम्ने जोखिम छ । कम्पनीको वित्तीय अवस्था हेर्दा रिपब्लिक मिडियामा गरेको लगानीले सेयरधनीलाई डुबाउने देखिन्छ ।


क्लिकमान्डु