फर्निचर एक्स्पो असोज दोस्रो साता



काठमाडौं । असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ सम्म एक्स्पो आयोजना गर्न लागेको हो ।

राजधानीमा एक्स्पोको लन्चिङ कार्यक्रम आयोजना गरी आयोजकले एक्स्पोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो । इभेन्ट लन्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रम स्थलमै ५० प्रतिशतभन्दा बढी स्टल बुकिङ भएको संघले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।

एक्स्पोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्कनजिकै रहेको इभेन्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । अनलाइन माध्यमबाट पनि स्टल बुकिङको व्यवस्था मिलाउने आयोजकले जनाएको छ । एक्स्पोमा सयभन्दा बढी स्टल रहनेछन् ।

एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्गनिर्देश गर्ने आयोजकको विश्वास छ ।

एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवर्धन र विकासका लागि सन् २०१२ देखि आयोजना हुन थालेको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल) ब्रान्डको रुपमा स्थापित भइसकेको छ ।


क्लिकमान्डु