प्लेन टिकेटमा भ्याट लगाएपछि बिरोध, अर्थमन्त्रालयले बनायो अध्ययन समिति



काठमाडौं । सरकारले हवाई जहाजको टिकेटसहित पार्टपुर्जाहरुमा भ्याट लगाएपछि एयरलाइन्स कम्पनी सञ्चालकहरु बिरोधमा उत्रिएका छन् ।

सरकारले जेठ १५ मा सर्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत भ्याट छुटको सूची संशोधन गर्दै एयरलाइन्सको टिकट, उपकरणहरु, मेसिन लगायतमा भ्याट लगाएपछि उनीहरु बिरोधमा उत्रिएका हुन् ।

एयरलाइन्सहरु बिरोधमा उत्रिएपछि शुक्रबार अर्थमन्त्रालयमा सचिवको नेतृत्वमा सरोकारवालहरुबीच छलफल भएको छ ।

सरोकारवाला सँगको बैठकपछि मन्त्रालयले आन्तरिरक राजस्व विभागका उपमहानिर्देशक अर्जुन भट्टराईको नेतृत्वमा एयरलाइन्सले खरिद गर्ने उपकरण, मेसिन र हवाइ टिकटमा लागेको मूल्य अभिवृद्धि करका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा सञ्चालक संघका प्रतिनिधि लगायतका सरोकारवाला रहने छन् ।

समितिलाई भ्याटको प्रभावकारिता, यसले पार्ने असर र अन्य वैकल्पिक उपायका विषयमा सुझाव दिने जिम्मेवारी दिइएको छ ।

सरकारले हवाईजहाजको इञ्जिनको पार्टपुर्जामा भ्याट लाग्ने बनाएको छ भने स्पार्क-इग्निसन रेसिप्रोकेटिङ वा रोटरी इन्टरनल कम्बसन पिष्टोन इञ्जिनहरुमा दिँदै आएको छुट खारेज गरेको छ ।

उक्त वस्तुभित्र लुगा सुकाउने (क्लोद्स-ड्रायर्स) पनि छ । साथै, हवाईजहाज उडाउने गियर र तिनका पार्टपुर्जा, डेक एरेस्रट वा त्यस्तै गियर र तिनका पार्टपुर्जामा सरकारले भ्याट छुट खारेज गरेको छ ।


क्लिकमान्डु