लगातार बढिरहेको सुनको मूल्यले फेरि बनायो रेकर्ड, अझै बढ्न सक्ने



काठमाडौं । बजेटपछि निरन्तर बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । बजेट घोषणा गरेयता सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ ।

गत जेठ १५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको थियो । जेठ १६ गते एकै दिन २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, जेठ १७ गते प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र जेठ १८ गते ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको थियो ।

आज पुनः ८ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। उक्त भन्सार बढाउँदा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

उनकाअनुसार सरकारले ५ प्रतिशत भन्सार दर बढाउँदा सुन आयातमा प्रत्यक्ष असर पुगेको छ । जसले गर्दा उपभोक्तालाई महंगो पर्ने भएको छ । त्यस्तै, उनले अवस्था हेर्दा सुनको मूल्य अझै बढ्न सक्ने बताए ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु