स्वदेशमै रोजगारीका अवसर खोजी गर्न मेला आयोजना गरिएको हो: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंमा आयोजना गरिएको रोजगार मेलाले कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत अवसर जुटाइदिन सहयोग गर्ने बताएका छन् ।

महासंघले आयोजना गरेको मेलाले नयाँ अवसरको खोजी गर्न सघाउनुका साथै आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ ।

‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो । यसलाई सफल पार्न यहाँहरु सबैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा गरेका छौं,’ उनले भने । महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आईएलओको सहयोगमा कार्यक्रम आयोजना गरेको हो । निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको उनले बताए ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर केही दिनअघि मात्रै प्रतिवेदन सार्वजनिक गरेको उनले चर्चा गरे । ‘हामीले निजी क्षेत्रको सम्मानको विषय सुरुदेखि नै उठाइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ ।’

केही वर्षयता विभिन्न कारण निजी क्षेत्रले सहज रुपमा काम गर्न नपाउँदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालन हुन नसकेको उनको भनाइ छ । जसका कारण रोजगारीमा ठूलो प्रभाव पर्दा कामका लागि बिदेसिने नेपालीको संख्या ह्वात्तै बढ्यो । नेपालमा दक्ष जनशक्ति नपाउँदा उद्योग व्यवसायमा भारत लगायतका देशबाट कामदार ल्याउनुपरेको उनले जानकारी दिए ।

यसअघि महासंघले आईएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य संघहरुको सहकार्यमा केही दिन अघिमात्र वीरगन्ज र बुटवलमा रोजगार मेला सम्पन्न थियो । रोजगार मेलाहरुको आयोजनाबाट मुलुकभित्र काम खोजिरहेका जनशक्तिको तथ्यांक र उद्योग व्यवसायले खोजीरहेको जनशक्ति तथ्यांक पत्ता लगाउन सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।

रोजगार मेलाको मुख्य थिम ‘कनेक्टिङ डट्स अफ युअर फ्युचर’ भनेर राखिएको छ । यसले युवाहरुको भविष्यको चाहना र अपेक्षाका विन्दुहरुलाई जोड्ने उनले बताए । आगामी दिनमा महासंघका सदस्यहरुको सहयोग र सहकार्यमा मेलालाई क्यालेन्डर इभेन्टको रुपमा समेत अगाडि बढाइने उनको भनाइ छ ।


क्लिकमान्डु