आईपीएलको ‘ब्राण्ड भ्यालु’ ११ खर्ब २० अर्ब, एक सिजनको कमाइ डेढ खर्ब बढी



काठमाडौं । भारतको स्वदेशी क्रिकेट लिग भए पनि ‘आईपीएल’को प्रतिक्षा विश्वभरकै क्रिकेट फ्यानलाई हुन्छ । आईपीएलमा खेल्ने टिमदेखि खेलाडीलाई लिएर विश्वभरमा नै प्रतिक्षा गरिएको हुन्छ ।

सोमबार राती आईपीएलको फाइनलसँगै यो वर्षको संस्करण सकिएको छ । गुजरात टाइटन्ससँग चेन्नई सुपर किङ्गसले खेलेको खेलमा चेन्नईले जित हासिल गरेसँगै २०२३ को आईपीएल समाप्त भएको छ ।

संसारकै तेस्रो ठूलो लिग आईपीएलको कमाइ कति हुन्छ ? खेल र खेलाडीबारे धेरै खेलप्रेमी जानकार भएर पनि आईपीएलभित्रको आर्थिक पाटोको विषयमा धेरैलाई जानकारीको अभाव छ ।

यो वर्षको आईपीएलको कमाइ १२ गुणाले बढेको छ । आईपीएल खेलको प्रसारणको अनुमति खरिद प्रायः ५ देखि १० वर्षका लागि हुने गर्छ । यसमा औसत वार्षिक कमाइ विभाजन गरेर हेर्ने हो भने सन् २००८ मा आईपीएलको प्रसारण अनुमति बेचेर भारतीय क्रिकेट बोर्डले ८२० करोड भारतीय रुपैयाँ कमाएको थियो । २०२३ मा यो कमाइ बढेर ९ हजार ९७८ करोड भारतीय रुपैयाँ पुगेको छ ।

आईपीएल सुरुवात हुनुभन्दा अगाडि नै बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) संसारकै सबैभन्दा धनी क्रिकेट बोर्डहरुमध्येमा पर्छ । आईपीएल सुरु भएसँगै बीसीसीआईको कमाइ झन बढेको छ ।

सन् २००६–०७ मा बीसीसीआईको कमाइ ६५१.८१ करोड भारतीय रुपैयाँ थियो । सन् २०२१–०२२ मा बोर्डले ४ हजार ३६० करोड भारतीय रुपैयाँ कमाएको थियो । यसमध्ये आईपीएलको योगदान २२ सय करोड रुपैयाँ थियो ।

सन् २०१९ मा आईपीएलको ब्राण्ड भ्याल्यु ४७ हजार ५ सय करोड भारतीय रुपैयाँको आकंलन गरिएको थियो । ब्रान्ड फाइनेन्सको रिपोर्टकाअनुसार सन् २०२२ मा आईपीएलको ब्राण्ड भ्याल्यु ७० हजार करोड पुगेको छ ।

अब कुरा गरौं आईपीएलको एक खेलको कमाइको बारेमा ।

एक खेलबाट हुने कमाइको पक्षबाट हेर्दा आईपीएल विश्वभरकै सबैभन्दा धेरै कमाइ गर्ने अमेरिकी लिग एनएफएलभन्दा एक स्थानले मात्रै पछि रहेको छ । एक खेलमा प्राप्त हुने दर्शक, विज्ञापनदाता, अनुमति खरिद र टिकटको बिक्रीजस्ता आम्दानीका स्रोतबाट हेर्दा आईपीएलमा १३० करोड भारतीय रुपैयाँ आम्दानी हुन्छ । यस सिजनको आईपीएलमा ७४ खेल भए । जसअनुसार बीसीसीआईले आईपीएलबाट करिब ९ हजार ६ सय करोड (करिब १ खर्ब ५३ अर्ब नेपाली रुपैयाँ) भारतीय रुपैयाँ कमाइ गरेको छ ।

आम्दानी धेरै हुने भए पनि आईपीएलले खेलाडीमाथि गर्ने खर्च भने निकै कम छ ।

कसरी गर्छ बीसीसीआईले कमाइ ?

सन् २००७ बाट सुरु भएको आईपीएल अहिले भारतको एउटा खेलको उत्सव मात्रै नभएर व्यापारिक तवरले पनि ठूलो घटनामध्येमा पर्छ । यसको सञ्चालनको पूर्ण जिम्मा बीसीसीआईसँग रहेको छ ।

आईपीएलबाट बीसीसीआईले गर्ने कमाइ मुख्यतः तीन भागमा हुने गरेको छ ।

पहिलो भाग हो सेन्ट्रल पुल । सेन्ट्रल पुलमा तीन स्रोतहरुबाट कमाइ हुन्छ । यसरी भएको कमाइको विभाजन पनि तीन भागमा हुन्छ ।

मिडिया तथा प्रसारणको अनुमति, विज्ञापन र टाइटल स्पोन्सरसिपबाट यो भागमा आम्दानी हुने गर्छ । र यसरी भएको आम्दानी बीसीसीआई, फ्रेन्चाइजी र पुरस्कार राशीमा खर्च हुने गर्छ ।

आईपीएलको कमाइको दोस्रो भाग भनेको फ्रेन्चाइजी हो । यसमा पनि तीन क्षेत्रबाट कमाइ हुन्छ । टिकटकको बिक्री, स्पोन्सरसिप र मचेन्डाइजको बिक्रीबाट हुने आम्दानी यो भागमा पर्छ । यसरी हुने आम्दानीको ८० प्रतिशत हिस्सा फ्रेन्चाइजीका लागि जान्छ भने बाँकी रकम बीसीसीआईलाई प्राप्त हुन्छ ।

आईपीएलको आम्दानीको तेस्रो भाग हो फ्रेन्चाइजीका लागि तिरिने शुल्क । आईपीएलमा खेल्न आउने हरेक टिम ‘ओनर अक्सन’बाट तय हुन्छ । सबैभन्दा धेरै रकमको बोली लगाउने टिमलाई नै फ्रेन्चाइजी वितरण गरिन्छ । यो भागबाट हुने कमाइको पुरा रकम बीसीसीआईलाई नै प्राप्त हुन्छ ।

आईपीएलमा सबैभन्दा धेरै रकम मिडिया अनुमतिको बिक्री तथा प्रसारण अनुमतिबाट हुने गर्छ । आईपीएलका खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने अनुमतिदेखि हाइलाइट्सजस्ता कुराहरु पनि तीनै कम्पनीले देखाउन पाउँछन्, जोसँग बीसीसीआईले सम्झौता गरेको हुन्छ । लिलामी प्रक्रियाबाट गरिने प्रसारण अनुमतिको बिक्रीका लागि विभिन्न कम्पनी तथा व्यापारिक घरानाहरुले करोडौं रुपैयाँ लगानी गर्छन् ।

२००८ मा आईपीएलको पहिलो सिजनको खेल प्रसारणका लागि सोनी इन्टरटेनमेन्टसँग सम्झौता भएको थियो । सोनीले १० वर्षका लागि प्रसारण अनुमति किनेको थियो । त्यो बेला ८ हजार २ सय करोड भारतीय रुपैयाँमा यो अनुमति बिक्री भएको थियो।

२०१८ देखि २०२२ सम्म स्टार स्पोटर्सले यो अनुमति पायो । यसका लागि स्टार स्पोटर्सले १६ हजार ३४७ करोडमा प्रसारण अनुमति किनेको थियो ।

२०२३ देखि २०२७ सम्मका लागि भने स्टार स्पोटर्स र जियो सिनेमाले संयुक्त रुपमा प्रसारण अनुमति पाएको छ । यसका लागि बीसीसीआईलाई यी कम्पनीहरुले ४८ हजार ३९० करोड भारतीय रुपैयाँ तिरेका थिए ।

दैनिक भाष्कारबाट


क्लिकमान्डु