स्थल मार्गबाट आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गरौं: महासंघ अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अन्तरमन्त्रालय समन्वयको अभावमा नेपाल-भारत सीमा नाकामा दु:ख पाइरहेको बताएका छन् । सरकारले अन्तरमन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न उनले आग्रह गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टसको ५४औँ वार्षिक साधारण सभामा बिहीबार अध्यक्ष ढकालले भने, ‘हाम्रा सरकारी निकायबीच समन्वय नहुँदा भारतीय सीमा नाकाबाट स्थल मार्गबाट आउने पर्यटकले झमेलामा परिरहेको गुनासो आउने गरेको छ । अर्थ, गृह र पर्यटन मन्त्रालयबीच समन्वय भए यो ठूलो समस्या होइन ।’

यसलाई एक-दुई दिन वा हप्ता दिनभित्रै समाधान गर्न सकिने उनले बताए । ‘म माननीय मन्त्रीज्यूहरुलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दु:ख पाउँदा राम्रो सन्देश जाँदैन, नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ,’ उनले भने ।

उनले हरेक प्रदेशमा ठूला र नमुना पर्यटकीय गन्तव्य निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरे । काठमाडौँको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै उनले यस्तै किसिमका पूर्वाधार सातै प्रदेशमा निर्माण गर्न सके अहिलेको पर्यटक बसाइलाई दोब्बर गर्न सकिने अध्यक्ष ढकालको भनाइ छ ।

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनुपर्छ भनेर अभियन्ताको रुपमा लागेको उनले बताए । ‘नेपाल–भारत सीमा नाकानजिक रहेका नेपालका पहाडी गन्तव्य भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएका छन्,’ उनले भने, ‘सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

त्यस्ता क्षेत्रमा सरकारले न्यूनतम पूर्वाधारहरु जस्तै: बाटो, बिजुली, पानी र सुरक्षा मात्र व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले यसको पहल गरिरहेको उनले बताए । ‘यसबाट अहिले विदेशी मुद्रा सञ्चितिमा परेको समस्या समाधानका साथै रोजगारी र राजस्वमा समेत ठूलो योगदान पुग्नसक्छ,’ उनले भने ।

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको उनले बताए । भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आवश्यक पहल गर्न पनि उनले सरकारलाई आग्रह गरे ।

विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै उनले नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा पनि अधिकतम् सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए ।

‘विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति छन् । छिमेकी देश भुटानले पनि न्यूनतम् यति खर्च गर्नैपर्ने भनेर प्रावधान नै बनाएको छ । तर हामीकहाँ २५ हजारभन्दा धेरै भारतीय मुद्रा ल्याउँदा उल्टै दु:ख दिने गरिन्छ । यस्ता समस्याको तत्काल समाधान ननिकाल्ने हो भने खर्च बढ्दैन । पर्यटकले पनि दु:ख पाउँछन्,’ उनले भने, ‘त्यसैले नगदको सीमा बढाउने वा सहज वातावरण बनाउनेतर्फ पहल गर्न सरकारसँग मेरो आग्रह छ ।’


क्लिकमान्डु