नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग



चेक रिपब्लिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयक अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।

चेक रिपब्लिकमा सम्पन्न संघको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेकाले तत्काल उपलब्ध गराउन अनुरोध गरेको हो ।

‘संविधान जारी भएको झन्डै आठ वर्षपछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीको चासो रहेको नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकारसमक्ष अनुरोध गर्दछ,’ घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले संघको दशौँ महाधिवेशनपश्चात् समानान्तर गतिविधि गरिरहेका एनआरएनलाई हाल भइरहेको वार्ताका माध्यमबाट मूलधारमा समाहित भई एकताको एघारौँ महाधिवेशनमा सहभागी हुन अपिल गरेको छ ।

विदेशमा रहेका नेपालीको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलसँग सम्मेलनले अनुरोध गरेको छ ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिकले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेका सन्दर्भमा तत्काल प्रक्रिया मिलाइ विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरिएको छ ।


क्लिकमान्डु