ऋण लिएर जग्गा र सेयरमा लगानी गर्ने व्यवसायी र देश श्रीलंका बन्छ भन्दै कडाइ गर्ने नीति निर्माता दुबै दोषीः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकबाट लिएको कर्जा घरजग्गा, सेयर र गाडीमा लगानी गर्नु व्यवसायीको पनि दोष रहेको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको नवौं महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताए ।
‘बैंकहरुले सहजरुपमा कर्जा दिँदा घरजग्गा, शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष हो,’ ढकालले भने, ‘मुलुक श्रीलंका बन्छ भन्दै नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको छ ।’
उनले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताए ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताए ।
‘मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण छ,’ उनले भने ।
उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताए । उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए ।
ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौति समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए ।