नयाँ स्टक र कमोडिटिजको लाइसेन्स दिने प्रक्रिया सुरु, गौतमको नेतृत्वमा मूल्यांकन समिति



काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जलाई अनुमति दिने प्रक्रिया अगाडि बढेको छ ।

नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्ज स्थापना गर्न दिएका निवेदन अध्ययन गरि बोर्डमा बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्न मूल्यांकन समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वको मूल्यांकन समिति गठन गरेको हो । गौतम धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पनि हुन् ।

समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री सदस्य छन् ।

यस्तै, मूल्याकंन समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीसमेत सदस्य छन् ।

समितिलाई स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्ज सञ्चालनका लागि परेका निवेदन मूल्यांकन गर्दै सञ्चालक समितिमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिलाई यथासक्य छिटो काम सक्ने जिम्मेवारी दिइए पनि समय सीमा भने निर्धारण नगरिएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए।

बोर्डमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले निवेदन दिएका छन् ।

यस्तै, कमोडिटीज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेञ्जले निवेदन दिएका छन् ।

बोर्डले स्टक एक्सचेञ्ज स्थापनाका लागि निवेदन दिएका तीन कम्पनी मध्ये धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिनेछ।

मूल्यांकन समितिलाई धितोपत्र सम्बन्धी ऐन, धितोपत्र बजार संचालन नियमावली, २०६४ र निर्देशिकाअनुसार बढी अंक प्राप्त गर्ने कम्पनी एकिन गर्दै बोर्डमा सिफारिस गर्ने अधिकार दिइएको छ ।

यस्तै, ऐन, नियमावली र वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ निवेदन मूल्यांकन गर्दै बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्ने जिम्मेवारी मूल्यांकन समितिलाई दिइएको छ ।

निवेदन दिएका ४ मध्ये दुई कम्पनीले कमोडिटीज एक्सचेञ्ज सञ्चालनको अनुमति पाउने छन् ।


क्लिकमान्डु