कमोडिटीज मार्केटका लागि ४ वटा कम्पनीले दिए आवेदन, दुईवटाले लाइसेन्स पाउने
काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटीज मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएका छन् ।
कमोडिटीज मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज (म्याक्स), मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटीज एक्सचेन्जको आवेदन परेको हो ।
कमोडिटीज मार्केटको इजाजतपत्र लिन आवदेन दिने आज अन्तिम दिन चारवटा कम्पनीले आवेदन दिएका हुन् । सर्वोच्च अदालतको चैत २६ को रिट खारेजीको निर्णयले नयाँ स्टक कम्पनी, कमोडिटीज मार्केटको लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।
बोर्डले असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समेतलाई विपक्षी बनाई अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा मुद्दा दायर गरे ।
चैत २६ गते सर्वोच्चले उक्त मुद्दा खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो । धितोपत्र बोर्डले दुईवटा मात्रै कम्पनीलाई कमोडिटीजको लाइसेन्स दिनेछ ।