हिमालयन स्टकको अध्यक्षमा पूर्वप्रहरी प्रमुख, यी हुन् प्रमुख सेयरधनी



काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जको अध्यक्ष नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई बनाइएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतका अनुसार प्रहरीमा विवादित नभएका एक पूर्वमहानिरीक्षकलाई अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्ज दर्ता भएको हो ।

नयाँ स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङसका दीपक भट्ट प्रमुख शेयरधनी छन् ।

स्टक एक्सचेञ्जको प्रमुख शेयरधनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायत छन् ।

यस्तै, कम्पनीमा सनराइज बैंकको अध्यक्ष मोतिलाल दुंगडका छोरा विवेक दुगड र खेतान समुहका राजेन्द्र खेतानले पनि लगानी गरेका छन् । गतवर्ष हिमालय रि इस्योरेन्समा लगानी गरेका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया र आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई भने हिमालयन स्टक एक्सचेञ्जमा साझेदार बनाइएको छैन ।

सिरोहियाले हिमालयनमा सेयर लिने प्रयास गरेपनि भट्ट समूहले उनीहरुलाई सेयर दिन नमानेको स्रोतको दाबी छ ।

‘गत वर्ष हिमालय रि इन्स्योरेन्स सुरु गरेका लगानीकर्ताले नै हिमालयन स्टक एक्सचेञ्ज स्थापना गर्न आवेदन दिएका हौं,’ कम्पनीका एक लगानीकर्ताले भने, ‘हाम्रो कम्पनीले धितोपत्र बोर्डले तोकका सबै मापदण्ड पूरा गरेको छ । त्यसले नयाँ स्टकको अनुमति मिल्छ भन्नेमा हामी विश्वस्त छौं ।’

हिमालयन स्टकमा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष उपेन्द्र महतो र जिवा लामिछानेले पनि लगानी गर्न चाहेका थिए । तर, उनीहरुलाई पनि सेयर दिन कम्पनीका अधिकांश साझेदार तयार भएनन् ।


क्लिकमान्डु