नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुल्यो, यस्तो छ व्यवस्था



काठमाडौं । सरकारले नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुलाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नेपालमा उत्पादित सवारी साधनको दर्ताको बाटो खुलाएको हो ।

यातायात व्यवस्था विभागले कार्यविधिको ११.१ अन्तर्गत नयाँ बुँदा थप गरि संशोधन गरेर बाटो खुलाएको हो ।

कार्यविधिमा संशोधन गर्दै ११.१.९ नम्बर बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धि विशेष व्यवस्था गरिएको छ । अब विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका लागि सवारीको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने भएको छ ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पाक कम्पनीले भन्सार प्रज्ञापन पत्रको सट्टा मूल्य अभिबृद्धि करको बिल आवश्यक हुने गरि संशोधित कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रचलित कानुनअनुसार अन्तः शूल्कसम्बन्धि प्रावधान आकर्षिक हुने सवारीको हकमा भने अन्तः शुल्क निकासी फारम समेत पेस गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख गरिएको छ ।

केही सातायता नेपालमै विद्यूतीय बाइक उत्पादन गर्ने कम्पनी ‘यात्री’को सवारी दर्ता हुन नसकेपछि यो विषय चर्चामा थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सवारी दर्ता गर्न आवश्यक कानुन निर्माणका लागि निर्देशन दिएका थिए । त्यसअघि उनले यात्रीका प्रतिनिधिसँग छलफल गरेका थिए ।


क्लिकमान्डु