ह्वाटसएप अब एक साथ ४ फोनमा चल्ने



काठमाडौं । ह्वाट्सएपले निकै ठूलो अपडेट गरेको छ । कम्पनीले अब एक प्रयोगकर्ताको एकाउन्टलाई विभिन चार फोनमा चलाउन सकिने गरि अपडेट गरेको हो ।

यसअघि ह्वाट्सएपलाई एक फोन र एक कम्प्युटरमा चलाउन मिल्थ्यो । ह्वाट्सएपको वेब भर्जन प्रयोग गरेर यसलाई कम्प्युटरमा पनि चलाउन मिल्ने गरेको थियो । अब भने प्रयोगकर्ताले फोनमै पनि यो सुविधा पाएका छन् ।

ह्वाट्सएपकाअनुसार केही हप्तामा यो नयाँ सुविधा सम्पूर्ण प्रयोगकर्ताले पाउने छन् । ह्वाट्सएपको मुल कम्पनी मेटाका सिईओ मार्क जुकरबर्गले यो नयाँ सुविधाबारे जानकारी दिँदै लेखेका छन्, ‘आजबाट तपाईंहरुले एक साथ चारवटा फोनमा ह्वाट्सएप लगइन गर्न सक्नुहुनेछ ।’

ह्वाट्सएपको यो नयाँ फिचरलाई प्रयोग गरेर अब एक साथ एउटा प्रयोगकर्ताले चार वटा उपकरणमा आफ्नो एकाउन्ट चलाउन सक्नेछन् । यसका लागि सम्पूर्ण उपकरणहरुले स्वतन्त्र रुपमा नै काम गर्ने कम्पनीको दाबी छ । यसबाहेक प्रमुख फोन वा डिभाईसमा नेटवर्क नभएको अवस्थामा पनि अन्य फोन वा उपकरणमा भने ह्वाट्एप चल्नेछ ।

प्रयोगकर्ताले आफ्नो मुल फोन वा उपकरणबाहेकमा लगइन रहँदा पनि म्यासेज पठाउन र प्राप्त गर्न सक्नेछन् । तर, प्रयोगकर्ताको प्राथमिक उपकरणमा लामो समयसम्म नेटवर्क नभएमा वा अनलाइन नभएमा अन्य उपकरणबाट पनि ह्वाट्एप लगआउट हुनेछ ।

कसरी हुनेछ लगइन?

अन्य उपकरणमा ह्वाट्एप चलाउने प्रक्रिया निकै सजिलो रहेको छ ।

अब प्रयोगकर्ताहरुले ओटिपीमार्फत मुलबाहेकका उपकरणहरुमा लगइन गर्न पाउनेछन् । सुरुवातमा प्रयोगकर्ताहरुले आफूले चाहेको फोनमा ह्वाट्एपको एपमार्फत आफ्नो फोन नम्बर दर्ता गर्नुपर्नेछ । त्यसपश्चात प्राथमिक फोनमा ओटिपी प्राप्त हुन्छ । उक्त ओटिपीलाई आफूले चाहेको फोनमा राखेर ह्वाट्एपमा प्रवेश पाउन सकिनेछ ।

यसबाहेक प्राथमिक फोनबाट क्युआर कोड स्क्यान गरेर पनि अन्य उपकरण वा फोनमा ह्वाट्एप लगइन गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु