मोबाइलको माग घट्दा साओमीको मोबाइल बिक्री गर्ने कम्पनीको व्यापार १ अर्बले घट्यो



काठमाडौं । कोभिडपछि बजारमा मोबाइलको माग घट्दा साओमी ब्रान्डको मोबाइल बेच्ने टेली डाइरेक्ट प्रालिको व्यापार १ अर्बले घटेको छ । नेपालको लागि साओमी ब्रान्डको आधिकारिक बिक्रेता टेली डाइरेक्ट कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १ अर्ब १८ करोड १० लाख रुपैयाँले घटेको हो ।

सन् २०२१ मा कोभिडले गर्दा वर्क फ्रम होम तथा पठनपाठन अनलाइनबाट हुँदा मोबाइलको उच्च माग थियो । बजारमा उच्च माग हुँदा मोबाइलको व्यापार गर्दै आएको व्यवसायीहरु मालामाल भएका थिए । तर, कोभिडको संक्रमण घट्दै गएपछि बजार चलायमान हुँदा मोबाइलको व्यापार भने ह्वात्तै घटेको देखिएको छ ।

कम्पनीले सन् २०२१ मा ८ अर्ब ४० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा ६ अर्ब ८१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब ६२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालमा साओमी ब्रान्डको स्मार्टफोनको आधिकारिक विक्रेता दुईवटा छन् । त्यसमध्ये टेली डाइरेक्ट एक हो । रमेश कर्पद्वारा सञ्चालित कम्पनीले सन् २०१९ देखि साओमी ब्रान्डको स्मार्टफोन बिक्री वितरण गर्दै आएको छ । रोहित गुप्ता अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एथ्री रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा व्यापार १५ प्रतिशतले घटेको जनाएको छ । सन् २०२२ मा तरलता अभावले गर्दा स्मार्टफोनको माग नहुँदा व्यापारमा कमी आएको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले सन् २०२२ मा ३.२१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा २.८८ प्रतिशतले नाफा कमाएको थियो ।

नेपालले आयात गर्ने स्मार्टफोनमध्ये साओमीको हिस्सा मात्रै १८ प्रतिशत छ । नेपालमा आयात हुने मोबाइल ब्रान्डमा दोस्रो स्थानमा रहेको कम्पनीको देशभर ३२ वटा डिलर छन् । कम्पनीको सन् २०२० मा ३५ वटा र सन् २०२१ मा ३३ वटा डिलर थिए । साथै, कम्पनीको देशभर १३ सय शाखा छन् ।

कम्पनीले सुरुमा नोकिया र कलर फोन आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको थियो । तर, सन् २०१९ देखि साओमीसँग सम्झौता गरी नेपालको मागअनुसार मोबाइलको आपूर्ति गर्दै आएको छ ।


क्लिकमान्डु