नेपालमा गुगल दर्ता, आम्दानीको २ प्रतिशत सरकारलाई बुझाउनुपर्ने



काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । गोरखापत्र दैनिकका अनुसार आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको हो । विभागका अनुसार सिंगापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० देखि गैरबासिन्दा व्यक्तिले नेपाली उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ । जसअनुसार गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपाल सरकारलाई बुझाउनुपर्नेछ ।

आर्थिक ऐन, २०७९ ले वार्षिक २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने गैरबासिन्दा व्यक्ति यस्तो करमा दर्ता हुनुपर्छ । त्यसरी दर्ता भएका व्यक्तिले आय वर्षअनुसार कारोबारको विवरण तथा कर दाखिल गर्नुपर्नेछ ।

तोकिएको समयभित्र कर दाखिल नगरेमा वार्षिक कारोबार रकमको ०.१ प्रतिशत प्रतिवर्षका दरले हुने रकम जरिवाना लाग्नेछ । कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ । यसरी दाखिला भएको आयमा आयकर भने नलाग्ने व्यवस्था गरिएको छ ।

गुगलजस्तो प्रसिद्ध कम्पनी नेपालको कर प्रणालीमा दर्ता हुँदा त्यसले भविष्यमा अन्य कम्पनीलाई पनि दर्ताको प्रक्रियामा ल्याउन सहयोग पुग्ने विभागको विश्वास छ । यसले फेसबुक, ट्विटरलगायतलाई पनि नेपालमा दर्ता हुन सहयोग पुग्नेछ ।


क्लिकमान्डु