ट्विटरले पैसा नतिर्नेको ब्लु टिक हटाउन थाल्यो, बिल गेट्स, शाहरुख लगायतले तिरेनन् पैसा
काठमाडौं । ट्विटरले हालसम्म सित्तैमा दिइरहेको ट्विटर प्रमाणीकरण अर्थात ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ ।
ट्विटरले केही दिनबाट ट्विटरमा रहेका प्रयोगकर्ताहरुको प्रमाणीकरणको संकेत हटाउन सुरु गरेको हो ।
कम्पनीमा नयाँ सीईओ एलन मस्क भित्रिएसँगै प्रमाणीकरणका लागि शुल्क लाग्ने बताइएको थियो । र शूल्क नतिर्ने प्रयोगकर्ताहरुको खाताबाट ब्लु टिक हटाउने कम्पनीले जनाएको थियो ।
सोहीअनुसार अब ट्विटरमा प्रमाणीकरणका लागि शुल्क नतिर्ने एकाउन्टहरुबाट ब्यु टिक हटन सुरु भएको छ ।
कम्पनीले यसअघि गत अप्रिल १ मा व्यक्तिगत प्रयोगकर्ताहरुले प्रमाणीकरणका लागि मासिक ८ अमेरिकी डलर र व्यवसाय वा संस्थाहरुले मासिक १ हजार डलर तिर्नुपर्ने बताएको थियो । तर, उल्लेख गरिएको रकम नतिरेपछि धेरैको एकाउन्टबाट ब्लु टिक हटेको छ ।
भारतीय अभिनेता शाहरुख खान र अमिताभ बच्चनका साथसाथै खर्बपति बिल गेट्सलगायतका व्यक्तिहरुको एकाउन्टबाट ब्लु टिक हटेको छ भने विभिन्न संघसंस्थाहरुको एकाउन्टबाट पनि ब्लु टिक हटेको छ ।
सन् २०२२ मा ट्विटरको स्वामित्व लिएका मस्कले आफू सीईओ भएसँगै सुरुवातमै ट्विटरमा प्रमाणीकरणका लागि शुल्क लाग्ने भन्दै सब्सक्रिप्सन सुरु गरेका थिए ।