महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । ढकाल साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् ।
बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

‘महासंघलाई सबै उद्योगी व्यवसायीको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु । यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र सबै प्रदेशमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।’

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायी समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्व रहने बताए । ‘हामी एक भयौँ भने मात्र निजी क्षेत्र बलियो हुन्छ, हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,’ उनले भने ।

‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले भने ।


क्लिकमान्डु