महासंघ निर्वाचन: वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन कस्सिए चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ‘प्रेसिडेन्ट इन वेटिङ’ चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरुलाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् । चुनाव आउन एक साता मात्र बाँकी हुँदा प्यानल बनाएर मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्षका तीनै जना प्रत्यासीलाई सहमतिमा ल्याएर साझा उम्मेदवार तयार गर्न ढकाल लागिपरेका हुन् ।

चैत २७ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि वरिष्ठ उपाध्यक्षका प्रत्यासीबीच सहमति जुटाएर सर्वसम्मत गराउन वरिष्ठ उपाध्यक्ष ढकालले प्रयास थालेका हुन् । अन्तिम नामावली प्रकाशन हुनु अघिसम्ममा दाबी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले तीन जना वरिष्ठ उपाध्यक्षका प्रत्यासीसहित उपाध्यक्षका उम्मेदवार र अन्य उम्मेदवारलाई लैनचौरको ‘ले हिमालय’ होटलमा बोलाएर छलफल गरिरहेका छन् । अध्यक्ष ढकाल सहमतिबाटै महासंघको नेतृत्व छान्नुपर्ने पक्षमा छन् ।

गत साता क्लिकमान्डुसँगको अन्तर्वार्ताका क्रममा पनि उनले सहमतिबाटै महासंघको आगामी नेतृत्व छान्न प्रयास गर्ने बताएका थिए । संकटको घडीमा निजी क्षेत्र एक भएर सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो । मध्यमार्गी स्वाभाव र सकारात्मक सोच राख्ने ढकाल आसन्न निर्वाचनका लागि अहिलेसम्म भने मौन देखिएका थिए ।

वरिष्ठ उपाध्यक्षका लागि वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फकै वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् ।

उमेशलालको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।

त्यसैगरी संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वत: अध्यक्ष बन्नेछन् ।

महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा ११८ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।

ती दुई पदका लागि एकल उम्मेदवारी परेको छ । बाँकी ११६ जनाले विभिन्न पदका लागि प्रतिस्पर्धा हुनेछ । चैत २९ गते हुने निर्वाचनका लागि मंगलबारसम्म अन्तिम उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

हाल महासंघमा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७६२ गरी २ हजार १८ सदस्य छन् ।


क्लिकमान्डु