सर्वसहमतिको प्रयास गरिरहेको छु, मिलेन भने चुनाव त उठ्छुः भरत आचार्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षका उम्मेद्वार भरत आचार्यले आफूले सर्वसहमतिको प्रयास गरिरहेको बताएका छन् । एशोसिएट उपाध्यक्ष उठ्ने घोषणा गरेका आचार्यले अहिलेसम्म कुनै पनि टिममा खुलेका छैनन् ।

शुरुमा बरिष्ठ उपाध्यक्षका तीनैजना प्रत्यासी अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले आचार्य आफ्नो टिमको एशोसिएट उपाध्यक्षको उम्मेद्वार भएको दावी गर्दै आएका थिए । तर, आचार्यले कुनैपनि टिममा खुल्न नचाहेपछि अञ्जन श्रेष्ठ र रामचन्द्र संघाइले अर्को उम्मेद्वार तयार पारिसकेका छन् । उमेशलालले मात्रै अहिलेसम्म टिम घोषणा गरेका छैनन् ।

त्यसैले, अब भरत आचार्य उमेशलालको उपाध्यक्ष बन्लान् कि अरु केही गर्लान् भन्ने चासो नेपाल उद्योग वाणिज्य महासंघका मतदाताबीच छ । कतिपयले त आचार्य अब चुनाव नै उठ्दैनन् भन्न पनि थालेका छन् ।

तपाईं अहिलेसम्म कुनैपनि टिममा खुल्नु भएको छैन नि ? भन्ने क्लिकमाण्डुको प्रश्नमा आचार्यले भने, ‘देशको अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायीहरु ठूलो पीडामा भएको अवस्थामा चुनाव उठेर प्रतिस्पर्धा गर्नुभन्दा सर्वसहमति गरौं भन्ने मेरो प्रस्ताव र प्रयास हो । अझै पनि त्यो संभावना बाँकी नै छ । म त्यसैका लागि लागि परेको छु ।’

अन्तिम समयमा एशोसिएट उपाध्यक्ष सर्वसहमतिमा चयन हुने उनको विश्वास छ ।

‘सर्वसहमति भएन भने अन्तिममा चुनाव त उठ्छु उठ्छु,’ आचार्यले भने, ‘म चुनाव उठ्दिन भन्ने हल्ला चलेको भएको त्यो सरासर गलत हो ।’


क्लिकमान्डु