सुनको मूल्य लगातार उकालो, सन् २०२३ भित्रै दोब्बर हुने अनुमान
काठमाडौं । सुनको मूल्य ४ वर्षमा ८४ प्रतिशतले बढेको छ । २०७५ चैत ५ गते प्रतितोला ५९ हजार ७ सय रुपैयाँ रहेको सुन २०७९ चैत ५ गते १ लाख १० हजार रुपैयाँ पुगेको हो ।
एक सातामै सुन ९ हजार रुपैयाँले उकालो लागेको छ । फागुन २५ गते छापावाल सुन १ लाख १ हजार रुपैयाँ प्रतितोलाले कारोबार भएको थियो । आज भने सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।
चार वर्षअघि ६० हजार रुपैयाँभन्दा तल रहेको सुनको भाउ २०७६ चैत ५ गते ७८ हजार ५ सय, २०७७ चैत ५ गते ८७ हजार २ सय र २०७८ चैत ६ गते ९९ हजार २ सय रुपैयाँ थियो । चार वर्षको अवधिमा सुनको मूल्य प्रतिवर्ष ३१, ११, १३ र १० प्रतिशतले बढेको छ ।
सुनको मूल्य बढ्नुका धेरै कारण छन् । कतिपयले रुस-युक्रेन युद्धका कारण पनि सुनको मूल्य उकालो लागेको बताउने गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्वभरका केन्द्रीय बैंकले सुनको खरिद बढाएकाले मूल्य उकालो लागेको हो ।
सुनको मूल्य अहिले प्रतिऔंस (३१ ग्राम) १९८५ डलर छ । सन् २०२३ भित्रै अर्थात् अबको ९ महिनामै सुनको मूल्य प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने अनुमान भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य अन्तर्राष्ट्रिय वृत्तमा अनुमान भइरहेको हिसाबले सुनको मूल्य बढेर गयो भने नेपालीहरुको किन्नसक्ने पहुँचभन्दा धेरै माथि पुग्ने बताउँछन् । ‘अहिलेसम्म अमेरिकी डलरलाई युनिभर्सल करेन्सीका रुपमा प्रयोग गरिँदै आएको छ,’ उनी भन्छन्, ‘तर कतिपय देशले डलरको विकल्पमा अन्य मुद्रा या सुनको प्रयोग गर्ने अवधारणा अघि सारेपछि माग ह्वात्तै बढेको छ ।’
सन् २०२२ को जनवरीदेखि सुनलाई टियर वान एसेटमा राखिएपछि विश्वभरका केन्द्रीय बैंकले सुन खरिद र भण्डारण बढाएका छन् । ‘त्यसको सीधा असर सुन बजारमा परेको छ,’ अध्यक्ष शाक्य भन्छन्, ‘माग उच्च रुपमा बढेपछि मूल्य बढ्नु सामान्य नै हो ।’ सन् २०२२ अघि सुनलाई टियर थ्रीमा राखिएको थियो ।
टियर वान एसेटले बैंक तथा वित्तीय संस्थाको मुख्य इक्विटी सम्पत्तिको प्रतिनिधित्व गर्छ । टियर वान क्यापिटल जति धेरै छ वित्तीय संस्था त्यति नै बलियो छ भन्ने बुझिन्छ । अन्तर्राष्ट्रिय नियामक सम्झौता बासेल थ्री ले सुनलाई टियर वान एसेटमा राखेको हो ।
सन् २००८ मा विकसित मुलुकले व्यहोर्नुपरेको अनपेक्षित संकटपछि वित्तीय क्षेत्रका कमजोरी सुधार्न र सम्भावित वित्तीय संकट सामना गर्ने पूर्वतयारी स्वरुप बासेल थ्री अवधारणा विकसित गरिएको हो । नेपाल राष्ट्र बैंकले पनि २०७३ साउनदेखि बासेल थ्री लागू गरिसकेको छ ।
रुस, चीन, भारत, ब्राजिल र साउद अफ्रिका आबद्ध ब्रिक्सले अमेरिकी डलर प्रयोगको विकल्प खोजिरहेका छन् । ती देशहरुले पेट्रोल खरिदमा पनि डलरलाई अनिवार्य नगरेर अन्य रुपैयाँ या सुनबाट कारोबार गर्ने विकल्पमा छलफल चलाएका छन् । यसले डलरलाई कमजोर बनाउने र सुनलाई एकदमै बलियो बनाउने विश्वासमा लगानीकर्ताले पनि सुन खरिद गर्ने क्रम बढेको अध्यक्ष शाक्य बताउँछन् ।
अर्को कुरा मानिसले केही समय अघिसम्म क्रिप्टोकरेन्सी बिट क्वाइनलगायतमा लगानी गरे । तर, करिब डेढ वर्षको अवधिमा बिट क्वाइनको भाउ घटेर करिब ७६-७७ हजार डलरबाट २७-२८ हजारमा झरेको छ ।
त्यसले पनि लगानीकर्ताको विश्वास गुमाएको शाक्यको भनाइ छ । उनका अनुसार वित्तीय प्रणालीमा भइरहेको परिवर्तनमा सुनले जति विश्वास कुनै वस्तुले कमाउन नसकेकाले लगानीकर्ताको आकर्षण बढेको हो ।