सुन बजार: ठूला भन्छन्- अभाव छैन, साना भन्छन्- हाहाकार छ



ग्राहक पर्खिंदै महाकाली ज्वेलर्सका कर्मचारी ।

काठमाडौं । काठमाडौंको विशाल बजारमा रहेको लक्की ज्वेलर्समा आइतबार बिहान कर्मचारी अनु राउत र ग्राहकबीच कुराकानी हुँदै थियो ।

‘एउटा सानो लकेट झिक्नुस् त बहिनी ।’

राउतले लकेटहरु देखाइन् । मनपरेको लकेट हातमा राखेर ग्राहकले मूल्य सोधे ।

क्याल्कुलेटर छिचिसकेर उनले भनिन्, ‘३२ हजार पर्छ ।’

राउतले सानो लकेटको ३२ हजार मूल्य सुनाएपछि ग्राहक झस्किए ।

‘सानो छ त हौ, ३२ हजार पर्छ ? अलि घटाउन मिल्दैन ?’ उनले डिस्काउन्ट मागे ।

राउतले फेरि क्याल्कुलेटर थिचिन् र भनिन्, ‘३० हजारसम्म आउँछ ।’

ग्राहकले मुख बिगार्दै भने, ‘कति महँगो हौ ?’

‘आज त १ लाख १० हजार प्रतितोला पुगेको छ, महँगो हुँदैन त !’

१२ बज्दासम्म यस्तै साना-साना ४-५ वटा सामान उनले बचिसकेकी रहिछन् । पसलमा खासै भीड थिएन । ‘सिजन नभएर पनि होला, मूल्य धेरै बढेर पनि होला, अहिले त व्यापार निकै कम छ,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘ग्राहकको फ्लो एकदमै कम छ ।’

ज्वेलर्सका सञ्चालक मुकुन्दकुमार ठाकुरले सुनको मूल्य धेरै नै बढेकाले किन्न चाहने ग्राहक पनि ‘स्किप’ हुने गरेको बताए । ‘कोरोनाकालको त कुरा फरक भयो, त्यसअघि र पछिका वर्षहरुमा भन्दा पनि अहिले व्यापार निकै कम छ,’ उनले भने, ‘मलाई लाग्छ, ६० प्रतिशत व्यापार घटेको छ ।’

लक्कीसँगै जोडिएको ऋद्धिसिद्धि ज्वेलर्समा पनि ग्राहक अलेलि थिए । सुरक्षा गार्डको नजिकै गएर भनेँ, ‘मूल्य जति बढे पनि मानिसले सुन लगाउन नछाड्ने रहेछन् ।’

सुरक्षा गार्ड सिरु गुरुङले भने, ‘यो पसलमा त मान्छे अलेलि आइरहने रहेछन् ।’

हिजोआज सुनको मूल्य अचाक्ली बढेपछि कारोबार सुस्ताएको छ । अलि ठूला र चलेका पसलमा ग्राहकको चहलपहल देखिए पनि साना पसलहरु सुनसान छन् ।

न्युरोडको श्री जगन्नाथ ज्वेलर्सका सञ्चालक चित्ररञ्जन हाजरा हातले टाउको अड्याएर बसिरहेका थिए । चार जना महिला कर्मचारी मोबाइल चलाइरहेका थिए । पसलमा कुनै ग्राहक थिएनन् ।

‘सुनसान छ त साहुजी ! किनबेच खासै छैन ?’

‘छैन । मूल्य बढेर पनि होला, सिजन नभएर पनि होला, अहिले त ७० प्रतिशत कारोबार डाउन छ, चैत लागेपछि त झन् कारोबार शून्यबराबर छ,’ उनले एकै सासमा भने, ‘बरु बेच्न आउँछन्, किन्न आउँदैनन् ।’

दिउँसो १ बजिसकेको थियो । त्यसबेलासम्म कुनै ग्राहक पसलमा नभित्रिएको उनले बताए । ‘चैत लागेपछि यस्तै छ,’ निराशाजनक भावभंगीमा उनले भने ।

शालिकनजिकै रहेको कुन्दन ज्वेलर्समा पनि कुनै ग्राहक थिएनन् । चार-पाँच जना कर्मचारी मोबाइलमै व्यस्त थिए । साना पसलहरुमा किनबेच ठप्प थियो ।

विशाल बजार पश्चिमपट्टि रहेको महाकाली ज्वेलर्सका सञ्चालक राजेश जाजोडिया पनि चिउँडोमा हात राखेर बसिरहेका थिए । ‘माघ-फागुनमा अलि चल्यो, त्यसभन्दा अघि पनि थिएन, अहिले पनि छैन,’ उनले भने, ‘मूल्य पनि ७-१० दिनमा १० हजार जति नै बढेको छ ।’

मोबाइलमा फागुन २५ गतेको सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ देखाउँदै उनले भने, ‘मूल्य धेरै बढेपछि बरु बजारमा पुरानो सुन आउने क्रम ह्वात्तै बढेको छ, बिक्री हुने खासै छैन ।’

सुनको मूल्य प्रतितोला १ लाख १० हजार पुगेकाले पुरानो सुन धेरै नै बजारमा फर्किने जाजोडियाले अनुमान गरे । ‘यो विगतदेखिकै ट्रेन्ड हो,’ उनले भने, ‘तुरुन्त क्यास कन्भर्ट हुने नै सुनमा हो, अहिले बजारमा पैसा पनि अभाव छ, पछि किनुँला भनेर अहिले बेच्ने क्रम बढ्छ ।’

सरकारले सुन आयात प्रतिदिन २० किलोबाट अहिले १० किलोमा झारेको छ । २०७८ फागुन २२ गतेदेखि १० किलोमा झारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा दैनिक सुनको माग ३५ किलो छ ।

कसरी चलेको छ त बजार ? महाकाली ज्वेलर्सका जाजोडिया भन्छन्, ‘पुस र माघमा अलि दबाब बढेको थियो, फागुन अन्तिमदेखि मूल्य फेरि बढ्न थाल्यो, त्यसले गर्दा पुरानो सुन फर्कियो, अहिले बजारमा अभाव कत्ति छैन ।’

श्री जगन्नाथ ज्वेलर्सका सञ्चालक हाजराले पनि सुन अभाव नरहेको बताए । ‘अभाव त के, हाम्रो भागमा परेकै सुन पनि ल्याउन सकिएको छैन,’ उनले भने, ‘बजार सुस्त छ, यस्तो बेला अभाव हुने कुरै भएन ।’

महासंघका अध्यक्ष माणिकरत्न शाक्य भने सरकारले दैनिक १० किलोमा झारेपछि बजारमा एक किसिमको हाहाकार नै रहेको बताउँछन् । ‘माघदेखि नै बजारमा सुनको अभाव छ, गरगहना केही मात्रामा पाइए पनि सुनको चरम अभाव भइसकेको छ,’ उनी भन्छन्, ‘कोटा घटाइँदा सुन बजार अस्तव्यस्त बनेको छ ।’

नयाँ बानेश्वरमा रहेको यूकान्तिपुर ज्वेलर्सका सञ्चालक रमेशमान शाक्य पनि चरम सुन अभाव रहेको बताउँछन् । ‘ठूला ज्वेलर्सले कताबाट र कहाँबाट ल्याएर चलाउँछन्, थाहा छैन,’ उनले भने, ‘तर सरकारले कोटा घटाएपछि बजारमा सुनको हाहाकार छ ।’

सरकारले मागभन्दा निकै कम मात्र आयात हुन दिएकाले सुन बजार अस्तव्यस्त बनेको शाक्यले बताए । ‘यसै पनि अहिले देशको आर्थिक मन्दी र सुनको बढ्दो मूल्यका कारण व्यापार सुस्ताएको छ,’ उनले भने, ‘त्यसमाथि सुन अभाव छ । सुन व्यवसायी विकल्प खोज्नुपर्ने स्थितिमा पुगिसकेका छन् ।’

सरकारले कोटा घटाए पनि मूल्यवृद्धिका कारण आयात मूल्य धेरै छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्ममा २७ अर्ब ६२ करोड रुपैयाँको सुन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ३१ अर्ब २ करोड रुपैयाँको आयात भएको छ । परिमाणमा भने गत वर्षभन्दा सुन आयात निकै कम छ ।


क्लिकमान्डु