ईकमर्श क्षेत्रमा क्रान्ति गर्ने सोचसहित शुरु भएको कृषा



काठमाडौं । निशान्त मरासिनी अध्ययनको शिलशिलामा भारतमा थिए । त्यो बेला अबेरसम्म बसेर पढ्नु पर्ने बाध्यता थियो । रातभर जागा रहन ‘रेडबुल’को सेवन गर्थे निशान्त ।

जब नेपाल आए, तब उनले नेपाली बजारमा ‘रेडबुल’ खोजे । तर, भारतमा जस्तो नेपाली बजारका स-साना किराना पसलहरुमा सहजै रेडबुल उपलब्ध थिएन । उपलब्ध भए पनि ओरिजिनल नभएर त्यसका नक्कलहरु पाइन्थे ।

तब निशान्तले ती पसलमा सोध्थे, ‘किन नराख्नु भएको ?’

जवाफ धेरैको एउटै थियो, ‘हाम्रोमा चाहिन्छ भन्दै सोध्न नै आउँदैनन् ।’

यहि घट्नापछि निशान्तको दिमागमा अंकुराएको थियो ‘कृषा’को सोच । शुरुवातमा व्यवसायीदेखि व्यवसायीसम्मको ‘मिडिएटर’को रुपमा स्टार्टअप शुरु गर्ने सोच अहिले परिस्कृत भएर हुर्किएको छ । अहिले कृषाले व्यवसायका तीनवटै होलसेल व्यावसायी, खुद्रा व्यवसायी र उपभोक्तालाई नै एकै ठाउँमा जोड्ने जमर्को गरेको छ ।

गत वैशाखबाट निशान्तले स्टार्टअपका रुपमा ‘कृषा डटकम’ शुरु गरेका छन्, जसको मुल उद्देश्य उपभोक्ताले खोजेको सामान सहजै पाउने र खुद्रा व्यापारीलाई आवश्यक पर्ने सामान सहजै उपलब्ध गराउने रहेको छ ।

‘नेपालमा अहिले ईकमर्श व्यवसाय निकै चलेको छ,’ निशान्त भन्छन्, ‘तर, हाम्रो सोच फरक छ । अहिले उपभोक्ताले बिक्रीकर्ताले भनेअनुसारको मूल्य तिर्नु परेको छ । कृषामा बिक्रीकर्ताले नभएर खरिदकर्ताले सामानको मूल्य तोक्छन् । आफूलाई चाहिएको सामान, चाहिएको संख्या र प्रकारको आधारमा उपभोक्ताले नै मूल्य राखेर हाम्रो प्लेटफर्मबाट सामान खरिद गर्न सक्छन् ।’

विश्वभर नै अहिले फस्टाएको प्रमुख व्यवसायमध्येको हो, ईकमर्श । नेपालमा पनि यसको प्रभाव कम त छैन । तर, नेपाली बजारमा ईकमर्शलाई लिएर व्यवस्थित तथा उपभोक्ताको सन्तुष्टि केन्द्रित कामहरु भएका छन् वा छैनन भन्नेमा संकोच देखिन्छ । कहिले भनेजस्तो सामान नपाउने, बजारमा गएर किनेकोभन्दा अनलाइनमा किनेको महंगो हुने, तस्बिरमा एउटा भएको सामान डेलिभरि हुँदा अर्को हुनेलगायतका थुप्रै समस्याहरु उपभोक्ताले भोग्नु परेको छ ।

तर, निशान्तले शुरु गरेको कृषाको व्यवसायिक शैली योभन्दा पृथक छ । आफूहरुले उपभोक्ताको सन्तुष्टिलाई मुख्य ध्यानमा राखेर काम शुरु गरेको बताउँछन् निशान्त ।

कृषाको सोच निशान्तको दिमागमा २०१७ तिर नै शुरु भएको थियो । त्यो बेला उनी अध्ययन गरिरहेका थिए । एमबिए सकेका उनले यो व्यवसायलाई लिएर बजारको अवस्था नियाले । २०२१ मा औपचारिक रुपमा व्यवसाय शुरु भयो । निशान्त भन्छन्, ‘२०२१ मा हामीले कम्पनी दर्ता गरेका थियौं । गत वैशाखबाट हामी सञ्चालनमा आएका छौं ।’

कृषाले अहिले वेबसाइट तथा एपमार्फत सेवा उपलब्ध गराइरहेको बताउँछन् उनी ।

त्यसो भए कृषाको बिजनेस मोडल के हो त?

निशान्तकाअनुसार कृषाको बिजनेश मोडल ‘अनलाइन मार्केटप्लेस’को कन्सेप्ट हो । परम्परागत रुपमा सपिङ गर्दा होस् वा कुनै सामान आवश्यक पर्दा होस्, ग्राहकले बजार गएर आफूलाई चाहिएको सामान खोज्नुपर्छ । भनेजस्तै सामान पाउँछ भन्ने पनि छैन् । त्यसमाथि कुन सामान कुन बजारमा पाउँछ ? कुन पसलमा उपलब्ध छ ? मूल्य कति पर्ने हो ? यस्ता थुप्रै संकोचहरु ग्राहकको मनमा रहन्छन् ।

निशान्त कृषाले यहि कुरालाई समाधान गर्ने सोच लिएको बताउँछन् ।

कृषामा उपभोक्ताले आफूलाई आवश्यक परेको सामानको विवरण राखेर त्यसको सपिङ गर्न सक्छ । यसका लागि कृषाको वेबसाइटमार्फत उपभोक्ताले आइडी बनाएर आफूलाई चाहिएको सामानको नाम वा प्रकृति, कति संख्यामा चाहिएको हो र कुन मूल्यको चाहिएको हो राख्न सक्छन् ।

त्यसपछि खुद्रा बिक्रेताहरुले उपभोक्ताले गरेको अर्डरअनुसारको सामान आफूसँग भए नभएको चेक गरेर अर्डरलाई एसेप्ट गर्न सक्छन् र उपभोक्ताले भनेकै मूल्यमा बिक्री गर्न सकिने वा नसकिने भन्ने गर्छन् । दुवै पक्षबीचमा कारोबारका लागि स्वीकृत भएपछि खुद्रा बिक्रेताले सो सामान आफैंले वा कृषामार्फत नै डेलिभरि गरेर पठाउन सक्ने निशान्त बताउँछन् ।

निशान्त भन्छन्, ‘यो हाम्रो बिजनेसको एउटा मोडल हो, जसमा खुद्रा व्यापारी र उपभोक्ता जोडिनुहुन्छ ।’

त्यस्तै, कृषाले ‘बि टु बि’ अर्थात बिजनेस टु बिजनेस पनि काम गर्ने उनी बताउँछन् । यसमा भने खुद्रा व्यापारीहरुले होलसेल व्यवसायीहरुमार्फत आफूलाई आवश्यक पर्ने सामग्री किन्न सक्ने बताउँछन् । कृषाको यो मोडललाई लिएर अहिले भारत, चीन र बंगलादेशजस्ता अन्तराष्ट्रियस्तरमै होलसेल बिक्रेतालाई जोड्ने काम भइरहेको बताउँछन् निशान्त ।

निशान्त भन्छन्, ‘हामी अहिले ग्राहक र खुद्रा बिक्रेताबीच कारोबार गरिरहेका छौं । होलसेल व्यवसायी र खुद्रा व्यवसायी (बिटुबी) मा हामी इन्टरनल रुपमा सबै कुरा मिलाएर अन्तराष्ट्रिय स्तरमै पनि काम शुरु गर्ने तयारीमा छौं ।’

कृषाको उद्देश्य चाहे उपभोक्ता हुन वा व्यवसायी नै हुन्, दुवैलाई सहज सुविधा दिने रहेको बताउँछन् निशान्त । यसका लागि आफूहरुले फोटो खिचेर, भ्वाईसमार्फत वा आवश्यक वस्तुको नाम लेखेर नै पनि अर्डर दिन मिल्ने सुविधा उपलब्ध गराएका छन् । सम्पूर्ण रुपमा उपभोक्ता र बिक्रेतालाई सहज अवस्था सिर्जना होस भन्दै हरेक किसिमका माध्यमहरुबाट सेवा लिन मिल्ने किसिमले कृषालाई विकास गरेको निशान्त बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रोमा अरु ईकमर्शमा जस्तो फोटो अपलोड गर्नुपर्ने, डिस्क्रिप्सन लेख्नुपर्ने, प्रोडक्ट राखेपछि अप्रुभ होला वा नहोला भनेर कुर्नुपर्ने जस्ता कुराहरु छैनन् । उपभोक्ताले आफूलाई चाहिएको कुराबारे राख्न पाउनुहुन्छ र बिक्रेताले त्यहिअनुसारको सामग्री भएनभएको निधो गरेर कुरा अघि बढ्छ ।’

कृषामा रजिस्टर्ड भएपछि उपभोक्ताले गर्ने अर्डरअनुसारको सामान आफूसँग भएमा बिक्री गर्ने र नभएमा केही गर्न नपर्ने किसिमले आफ्नो स्टार्टअप रहेको निशान्त बताउँछन् ।

त्यसो भए कृषाको आम्दानी कसरी हुन्छ त?

निशान्त भन्छन्, ‘हरेक बिक्रेतासँग हामी उहाँहरुमार्फत कुनै पनि सामान बिक्री हुँदा निश्चित कमिसन लिन्छौं । यो कमिसन प्रतिशतमा वा निश्चित रकमको रुपमा रहने सुविधा छ ।’

निशान्त कृषामा उपभोक्ता र बिक्रेता दुवैलाई पूर्ण रुपमा स्वतन्त्रा हुने बताउँछन् ।

‘खुद्रा बिक्रेताहरुलाई हामीसँग जोडिँदा के फाइदा भयो भने कृषामा प्रोडक्ट अपलोड गर्ने, त्यसको विवरण लेख्ने, फोटो खोज्नेजस्ता झन्झट भएन्,’ उनी भन्छन्, ‘उपभोक्ताले खोजिरहेको चिज आफ्नो पसलमा छ भने उपभोक्तासँगै कुराकानी गरेर डेलिभरि चार्ज कति लिने निधो गरेर सहजै सामान बिक्री गर्न सक्नुहुन्छ ।’

सामान डेलिभरि गर्ने कुरामा पनि बिक्रेता आफैंले पनि डेलिभर गर्न सक्छन् । त्यसो नगर्ने भएमा कृषाले नै पनि सामान डेलिभरी गरिदिन्छ ।

यता उपभोक्ताले पनि आफूले चाहेको सामान सहजै पाउनुका साथै सात दिनसम्म रिटर्न समेत गर्न पाउने सुविधा कृषाले दिन्छ । सामान मन नपरेमा वा सोचेको जस्तो सामान नभएमा सहजै रिफण्डको सुविधा रहेको बताउँछन् निशान्त । उनी भन्छन्, ‘उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेका छौं । बिक्रेताले सामान डेलिभर गर्नुअघि फोटो पठाउन अनिवार्य गरेका छौं ताकी सोचेको जस्तै सामान होस । नेपालमा भएका ईकमर्शमा जस्तो एउटा सामान अर्डर गर्दा अर्को सामान आउने समस्या हाम्रोमा शुन्य हुन्छ ।’

कृषामा नुनदेखि सुनसम्मको उपभोक्ताले खरिद गर्न पाउँछन् । आफूलाई आवश्यक भएको सामान नै उपलब्ध गराउने काम गरिरहेको निशान्त बताउँछन् । उनी भन्छन्, ‘नुनदेखि सुनसम्म उपलब्ध गराउने हाम्रो सोच हो । सुन चाहिँ बेचिएको छैन । त्यो बाहेक मेडिकल सामग्री वा औषधि हामीले बेच्न मिल्दैन ।’

कृषालाई हालको अवस्थासम्म ल्याउँदा २२ लाख खर्च भएको निशान्त बताउँछन् । वैशाखबाट सञ्चालनमा आएपछि हाल आफूहरुले सेमिअटोमेटिक मोडलमा काम गरिरहेको उनको जिकिर छ । उनी भन्छन्, ‘हाम्रो यो अनलाइन बिजनेस त हो । तर, कति कुराहरु सिस्टममा मिलिरहेको छैनन् । यो कुराहरुमा हामी काम पनि गरिरहेका छौं ।’

आफ्नो स्टार्टअपबारे थप खुलाउँदै निशान्त भन्छन्, ‘हामी एक प्रकारका मिडिएटर हौं । उपभोक्तालाई एक रुपैयाँ भएपनि कम मूल्यमा खोजेको सामान गुणस्तरसहित झन्झट बिनै सहजै उपलब्ध होस र बिक्रेतालाई पनि सहजै सामान बिक्री गर्ने माध्यम रहोस भन्ने हाम्रो मुख्य ध्येय हो ।’

हालसम्म कृषामा ११ सय उपभोक्ताहरु रजिस्टर्ड भइसकेका छन् । त्यस्तै, बिक्रेताहरु १६७ जना कृषामा रजिस्टर्ड भइसकेका छन् । बिक्रेता र उपभोक्ताबीच कारोबार गरिरहेको कृषाले अहिले बिक्रेता र बिक्रेता (बिटुबी)बीच नै कारोबार गर्नका लागि तयारी गरिरहेको छ ।

‘कतिपय अर्डरहरु हामीले अफलाइनबाटै पनि गरेका छौं,’ निशान्त भन्छन्, ‘त्यो बाहेक वेबसाइट र एपमार्फत २०३ वटा कारोबार गरिसकेका छौं ।’

निशान्तले कृषालाई २०३० सम्म नेपाली ईकमर्श क्षेत्रमा शसक्त रुपमा प्रस्तुत गर्ने लक्ष्य लिएका छन् । कम्पनीको ट्यागलाइन पनि नेपाली इकमर्श क्षेत्रमा क्रान्ति ल्याउने रहेको छ । निशान्त भन्छन्, ‘हामीले लिएको लक्ष्य ईकमर्शलाई सहज बनाउने र यो क्षेत्रमा क्रान्ति ल्याउने हो ।’


युवराज भट्टराई