काठमाडौं एयरपोर्टको आन्तरिकतर्फका प्रमुख पूर्णप्रसाद चुडाललाई घुससहित अख्तियारले पक्रियो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ ।

आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यक्रक्षबाटै नियन्त्रणमा लिइएको हो ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडाललाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले सोमबार दिउँसो २ बजेदेखि अख्तियारको टोली स्टिङ अपरेशनमा आएको आफूले पनि सुनेको जानकारी दिए ।

पक्राउ परेका चुडाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । चुडाल नवौं तहका कर्मचारी हुन् ।

आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ ।

एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडाललाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिइसके पश्चात कार्यकक्षबाट प्रक्राउ गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, चुडाललाई नियन्त्रणमा लिई खानतलासी गर्दा कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ समेत बरामद भएकाले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  


क्लिकमान्डु