व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न उद्योग मन्त्री भण्डारीलाई परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ ।

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए ।

उनले उद्योगी व्यवसायीको मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे । उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।

साथै, सरकारले परिसंघले अघि बढाइरहेको ‘मेक इन नेपाल- स्वदेशी’ अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेको स्मरण गराउँदै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्दता जनाए ।

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

भेटमा मन्त्री भण्डारीले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
रोजगारीको अभावमा पलायन भइरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउनु आफ्नो महत्वपूर्ण लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसंग सहकार्य गरी अघि बढ्ने जनाए ।


क्लिकमान्डु