गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन, लक्ष्यभन्दा ३० प्रतिशत पछाडि



काठमाडौं । सरकारले पुस मसान्तसम्म लक्ष्यभन्दा ३० प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

जबकी सरकारले गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले गत वर्षभन्दा ३१ प्रतिशत कम राजस्व उठाएपछि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।

पुस मसान्तसम्म विभागले ३ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १ खर्ब ८२ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जबकी गत वर्ष विभागले २ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सरकारले आयात प्रतिबन्ध गर्न निर्णय गरेकाले राजस्व लक्ष्य प्रभावित भएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्म २ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २ खर्ब २३ खर्ब रुपैयाँ संकलन गरेको छ । गत वर्ष विभागले २ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गैरकर राजस्व भने गत वर्ष भन्दा ११ प्रतिशत बढी संकलन भएको छ ।

सरकारले पुस मसान्तसम्म ५४ अर्ब ८ करोड रुपैयाँ गैरकर संकलन गर्ने लक्ष्य लिएकोमा ५३ अर्ब ७१ करोड रुपैयाँ मात्रै संकलन भएको छ । गत वर्ष पुस मसान्तसम्म ४७ अर्ब २९ करोड रुपैयाँ गैरकर संकलन भएको थियो ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र आयकर लक्ष्यभन्दा कम संकलन हुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

पुस मसान्तसम्म १ खर्ब ६१ अर्ब रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य लिएको सरकारले ८५ अर्ब ७८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । यस्तै, पुस मसान्तसम्म १ खर्ब ८० अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य लिएको सरकारले १ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

सरकारले पुस मसान्तसम्म आयकर लक्ष्यको ७४ प्रतिशत मात्रै संकलन गर्न सकेको छ । पुस मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य लिएको सरकारले १ खर्ब १६ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

त्यसैगरी सरकारले पुस मसान्तसम्म ९७ अर्ब ५० करोड रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य लिएकोमा ७० अर्ब ५० करोड रुपैयाँ मात्रै संकलन भएको छ ।

चालू आर्थिक वर्षको मंसिरदेखि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छ । पुसमा मंसिरभन्दा राजस्व संकलन दर बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

आयात निरुत्साहनका लागि चालिएका कदम, घर जग्गा कारोवारमा आएको सिथिलता तथा घट्दो शेयर वजारका कारण पुँजीगत लाभकरमा उल्लेख्य कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।

सीमा नाकामा हुने चोरी पैठारी बढेकाले भन्सार राजस्वमा कमी आएको भन्सार विभागका एक अधिकारी बताउँछन् ।

अर्थमन्त्री र गृह मन्त्रीले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा चोरी तस्करीविरुद्ध प्रभावकारीरुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा भन्सार राजस्व बढ्ने विभागका एक अधिकारी बताउँछन् ।


क्लिकमान्डु