नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले २०२३ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनकाअनुसार नेपालमा सन् २०२३ मा आर्थिक वृद्धि दर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने पनि प्रक्षेपण गरिएको छ ।

त्यस्तै, विश्व बैंकले दक्षिण एसियाली देशहरुमा आर्थिक वृद्धि धिमा हुने पनि प्रक्षेपण गरेको छ । २०२३ मा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने र २०२४ मा यो ५.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।

विश्व बैंकले तीव्र रुपमा दीर्घकालीन बन्ने देखिएको आर्थिक मन्दीले विकासोन्मुख देशहरुलाई कडा प्रहार गर्ने देखिएको बताएको छ । त्यस्तै, विश्वव्यापी आर्थिक वृद्धि ६ महिनाअघि अपेक्षा गरिएको ३ प्रतिशतबाट घटेर अहिले १.७ प्रतिशत मात्र हुनसक्ने देखिएको विश्व बैंकले जनाएको छ ।

प्रतिवेदनकाअनुसार उच्च मुद्रास्फिति, उच्च ब्याजदर, कम लगानी र युक्रेनमा रुसको आक्रमणका कारण उत्पन्न भएको अवरोधका कारण विश्वव्यापी वृद्धि तीव्र रुपमा सुस्त बन्दै गएको छ ।

विश्व बैंकले वैश्विक अर्थतन्त्रमा २०२३ मा १.७ प्रतिशत र २०२४ मा २.७ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु