शतप्रतिशत घट्यो चाँदीको आयात, बजारमा छैन सुनचाँदीको माग



काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा चाँदीको आयात शतप्रतिशत घटेको छ । गत वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ९४.२ प्रतिशतले घटेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ८६ लाख रुपैयाँको चाँदी तथा चाँदीको कच्चा पदार्थ आयात गरेको छ । उक्त अवधिमा नेपालले २ हजार ८ सय केजी चाँदीको पाउडर, ३ हजार ६ सय केजी सिल्भर प्लेटलगायत अन्य चाँदी र ३ हजार ४०३ केजी चाँदी आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १४ अर्ब ८५ करोड ६७ लाख ९८ हजार रुपैयाँको १ लाख ५६ हजार २७२ चाँदी र चाँदीजन्य वस्तु आयात गरेको थियो । गत वर्ष उच्च चाँदी आयात भएको भन्दै सरकारले कडाइ गरेको थियो ।

बढ्दो आयातको कारण विदेशी सन्चिति घट्दै गएपछि सन्चिति बढाउनका लागि पहिलो पटक सरकारले गत असोजमा चाँदीको भन्सार बढाएको थियो । विगतको दिनमा चाँदीमा प्रति १० ग्राममा ८७ रुपैयाँ भन्सार शुल्क लाग्ने गरेको थियो । सरकारले यसलाई बढाएर १०७ रुपैयाँ पुर्‍याएको थियो ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले अस्वाभाविक रुपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको भन्दै गत वर्षको मंसिरमा एकपटकका लागि चाँदी आयातमा सीमा तोकेको थियो । चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थाले गर्दा कुनै पनि व्यवसायीले ३५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको चाँदी आयात गर्न नपाउने व्यवस्था गरेको थियो । त्यसभन्दा अगाडि व्यवसायीहरुले दिनमा एक पटकमा १ हजार केजीसम्म आयात गर्न पाउने थियो । त्यसैले सरकारले एकपछि अर्को निर्णय गर्दै चाँदी आयात निरुत्साहित गरेका थिए ।

साथै, गत वर्षको पुसमा नै चाँदी आयात गर्दा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । उक्त व्यवस्था गरेसँगै चाँदी आयातमा निकै प्रभाव परेको व्यवसायीहरु बताउँछन् । नगद मार्जिनको व्यवस्था हालसम्म पनि कायमै छ ।

त्यस्तै, बजारमा अहिले चाँदीको माग नभएकाले आयात पनि कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मराज बज्रचार्य बताउँछन् । ‘बजारमा चाँदीको माग न्यून छ,’ उनले भने, ‘खपत नभएको अवस्थामा आयात गर्ने कुरा हुन्न,’ उनले भने ।

त्यसैगरी, चाँदीसँगै सुनको खपत पनि कम भएको उनको भनाइ छ । बजारमा माग कम हुनुको मुख्य कारण मूल्यलाई लिइएको छ । अहिले सुनको मूल्य प्रतितोला १ लाख माथि छ भने चाँदीको मूल्य प्रतितोला १४ सयको हाराहारीमा छ । त्यसैले बजारमा माग कम भएको उनले जिकिर गरे ।

राष्ट्र बैंकले बजारमा दैनिक १० केजी सुन व्यवसायीहरुलाई वितरण गर्दै आएको छ । तर, अहिले उक्त १० केजी खपत हुन नसकेको उनको भनाइ छ ।

यसअघि सिजनमा १० केजीले पनि अपुग अवस्था थियो । अहिले बेमौसमले गर्दा पनि सुन खपत हुन सकेको छैन । जसले गर्दा आयातमा पनि कमी आएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० अर्ब ५७ करोड ४० लाख रुपैयाँको १४ सय ६६ केजी सुन आयात गरेको छ । तर, सुनसहित अन्य सुनजन्य वस्तु २६ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १९ अर्ब ६६ करोड १४ लाख रुपैयाँको सुन तथा सुनजन्य वस्तु आयात गरेको थियो ।


क्लिकमान्डु