पासपोर्ट बनाउनेमाथि सरकारको नियोजित ठगी, ‘डेट’ लिन साइबरमा १८ हजारसम्म बुझाउनु पर्ने बाध्यता



काठमाडौं । मोरङ पथरीका रविन खनाल वैदेशिक रोजगारीको तयारीमा थिए । गत मंसिरको दोस्रो साता उनले जान प्रयास गरिरहेको देश दुवईबाट भिसा आयो । मंसिर २२ गतेसम्म पासपोर्ट तयार गर्न र कागजातहरु बुझाउन भनियो ।

अघिल्लो पटक बनाएको पासपोर्टको म्याद सकिएका कारण उनी आफैंले पासपोर्टलाई नवीकरण गर्न खोजे । राहदानी विभागको वेबसाइटमा गए र राहदानी नवीकरण गर्ने अप्सनमा क्लिक गरे ।

‘मैले दुई घन्टा जति बिताएँ होला,’ आइतबार बिहान त्रिपुरेश्वरस्थित राहदानी विभागमा भेटिएका उनी भन्छन्, ‘तर, मरिगए वेबसाइट खुलेन । त्यसपछि साइबर गएर फर्म भर्न लगाएँ । त्यहाँ त एकै पटकमा भयो । आजको डेट पाएको छु ।’

महादेवस्थानमा रहेको एक साइबरबाट फर्म भरेको खनाल बताउँछन् । चार दिनपछिका लागि राहदानी विभागमा ‘अपोइन्मेन्ट’ लिनका लागि उक्त साइबरलाई ३५ सय रुपैयाँ बुझाएको उनी बताउँछन् ।

‘मैले चार दिनपछिको लागि फर्म भरेर डेट लिएको ३५ सय रुपैयाँ लाग्यो,’ उनी भन्छन्, ‘साइबरमा कुन दिनको लागि डेट लिने त्यहि अनुसारको पैसा लिन्छन् ।’

कीर्तिपुरका आकाश महर्जनको अनुभव पनि उस्तै छ । उनी पनि पासपोर्ट बनाउनका लागि एक साताबाट प्रयास गरिरहेका थिए । आफैंले विभागले तोकेकै समयमा वेबसाइटमा जान्थे । तर, अनलाइनबाट फर्म भरेर डेट लिनुपर्दा भने उनी सफल भएनन् । अन्ततः उनी पनि बाध्य भएर साइबरमै पुगे ।

‘मैले नयाँ बसपार्कमा रहेको एउटा साइबरबाट भरें,’ उनी भन्छन्, ‘मैले चिनेकै साइबर भएकाले मैले दुई दिनपछिको डेट लिँदा ८ हजार रुपैयाँ दिएको थिएँ ।’

बिहीबार उनले आफ्नो पासपोर्ट तयार भएर आएकाले लिन आएको बताए ।

राहदानी विभागले पछिल्लो समय अनलाइनबाटै पासपोर्ट लिनका लागि फर्म भर्ने र अपोइनमेन्टका लागि डेट लिने व्यवस्था गरेको छ । तर, सेवाग्राही भने सास्ती पाइरहेका छन् ।

टोकन लिएर पासपोर्ट लिने व्यवस्थालाई हटाएसँगै सुरु भएको ई–पासपोर्टको व्यवस्थाका लागि भने सेवाग्राहीहरु थप पीडित भइरहेका छन् ।

सेवाग्राहीहरु आफूले फर्म भर्न नसक्ने र नमिल्ने समस्याकाबीच उनीहरु विभिन्न साइबरहरुमा गएर फर्म भर्न र डेट लिन बाध्य छन् । विभागले अनलाइन फर्म भर्ने र अनलाइनबाटै अपोइनमेन्ट लिने व्यवस्था गरेको भए पनि सेवाग्राहीहरु भने साइबरमै भर पर्न बाध्य भएका छन् । फर्म भरिदिने यस्ता साइबरले भने सेवाग्राहीहरुलाई ‘लुटिरहेका’ छन् ।

राहदानी लिनका लागि सर्वसाधारणहरुले भोगीरहेको समस्याबारे विभाग जानकार नभएको होइन । सेवाग्राही ठगीमा पर्दासमेत विभागका अधिकारी भने ओठे जवाफ दिन्छन् ।

‘सबै जना यहाँ आउनुहुन्छ । जिल्लाबाट भर्ने हो भने यहाँ यस्तो चाप हुँदैन् । साइबरहरुले बारेमा हामीले प्रहरीलाई जानकारी गराएका छौं । कारबाही गर्ने काम उनीहरुको हो’ विभागका सूचना अधिकारी खिमानन्द भुसाल भन्छन् ।

दिनअनुसार रकम असुली

ताप्लेजुङका सुक्रराज राई एक साताअघि काठमाडौं आए । कोरिया भाषा परीक्षा (इपीएस) को परीक्षा दिने तयारीमा रहेका उनले पासपोर्ट बनाउने प्रयोजनसँगै काठमाडौंसम्मको यात्रा तय गरेका थिए । तर, काठमाडौं आएको सातादिन बित्दा पनि उनले पासपोर्ट बनाउने प्रक्रियामा खासै उपलब्धी हासिल गर्न सकेका छैनन् ।

‘१७ हजार दियो भने बनाइदिन्छु भनेको छ,’ उनी भन्छन्, ‘साइबरलाई डेट लिनका लागि ५ हजार दिनुपर्ने रे । त्यो बाहेक अर्जेन्ट पासपोर्ट लिएको १२ हजार रुपैयाँ लाग्छ रे ।’

जिल्लाबाट पासपोर्ट बनाउँदा धेरै समय लाग्ने सुनेकाले उनी काठमाडैं आएको बताउँछन् । ‘काठमाडौं आउने काम नै थियो । त्यसैले यतै आउँदा पासपोर्ट बनाउँ भनेको तर यहाँ त धेरै पैसा लाग्ने रहेछ’ उनले भने ।

शुक्रको जस्तै समस्या सप्तरीका कन्हैया करविन्दको पनि छ । उनले बुधबार मात्रै ४ हजार रुपैयाँ दिएर सोमबारका लागि डेट लिएका छन् । ‘मैले यहि त्रिपुरेश्वरमा ४ हजार दिएर डेट लिएको छु । फर्महरु भरेको । अब सोमबार आउनु भनेको छ’ उनले भने ।

राहदानी लिनका लागि अहिले विभागले बेग्लै वेबसाइट निर्माण गरेर सञ्चालनमा राखेको छ । तर, सेवाग्राही आफैंले उक्त वेबसाइटमा गएर फर्म भर्ने र डेट लिन चाहने हो भने असम्भव जस्तै हुन्छ । कतिपय अवस्थामा ‘धेरै ट्राफिक भएकाले’ भन्ने किसिमको सन्देश आउँछ भने कतिपय अवस्थामा अपोइनमेन्ट लिन मिल्ने स्थानसम्म पुगे पनि डेट लिन भने मिल्दैन । प्रायः डेटहरु अग्रिम नै बुक भइसकेको वा अनुपलब्ध भएको देखाइन्छ ।

क्लिकमान्डु संवाददाता आफैंले पनि केही दिनयता उक्त वेबसाइटबाट पासपोर्टको लागि डेट लिने प्रयास गर्दा उपलब्ध हुन सकेन । विभागकाअनुसार वेबसाइटे सर्भरको क्षमता २५ सय जनाको छ । अर्थात एक पटकमा वेबसाइटमा २५ सय जनाले प्रवेश गर्न पाउँछन् । त्यस्तै, दैनिक रुपमा १९ सय जनासम्मले फर्म भर्न पाउँछन् । तर, वेबसाइटमा प्रवेश गर्ने २५ सय जनाभित्रमै पर्न पनि निकै कठिन अवस्था छ ।

महेन्द्रनगरबाट पासपोर्ट बनाउनका लागि आएका विनोद विष्ट आफूले पनि पटक पटक वेबसाइटमा गएर डेट लिन खोज्दा नमिले पछि साइबरमा गएको बताउँछन् । उनी कलंकीस्थित एक साइबरबाट डेट लिएको बताउँछन् । ‘मैले चार हजार रुपैयाँ तिरेर ६ दिनपछिको डेट लिएको छु’ उनले भने ।

त्यस्तै, महेन्द्रनगरकै उमेश पाल मलेसिया जानका लागि तयारी गरिरहेका छन् । आफूलाई मेनपावर कम्पनीले कागजातहरु उपलब्ध गराउनु भनेकाले हाल आफू पासपोर्ट नवीकरण गर्नका लागि आएको उनी बताउँछन् । ‘म पासपोर्ट नवीकरण गर्न आएको हो, तर काम भएको छैन’ निराश हुँदै उनले भने ।

तत्कालकै लागि पासपोर्ट बनाउनका लागि डेट लिनमै आफूलाई १८ हजार रुपैयाँ मागिएको उनी बताउँछन् । बिहीबार राहदानी विभागमा भेटिएका उनी भन्छन्, ‘बसपार्कको एउटा साइबरले भोलि वा आइतबारको डेट लिन १८ हजार लाग्छ भनेको छ । त्यत्रो पैसा किन दिने भनेर म आफैं यहाँ आएको, तर यहाँबाट पनि केही भएन ।’

कैलालीका महेन्द्र शाहको पनि उस्तै अनुभव छ । उनले ५ हजार तिरेर तीन दिनपछिको डेट लिएको सुनाउँछन् ।

‘म अस्ती आइबार काठमाडौं आएको’, उनी भन्छन्, ‘कोटेश्वरमा होटलमा बसेको छु । हिजो (बुधबार) ५ हजार दिएर कोटेश्वरमै एउटा साइबरबाट तीन दिनपछिको डेट लिएको छु । अब आइतबार यहाँ फोटो खिचाउन आउनु पर्ने छ ।’

उपत्यकाभित्र रहेका विभिन्न साइबरहरुले पासपोर्टका लागि डेट लिन निश्चित रकम लिने गरेका छन् । विभागले सेवाग्राहीकै लागि सहज होस भन्दै ई–पासपोर्टको व्यवस्था बनाएको दाबी गर्ने गर्छ । तर, व्यवहारमा भने यसको ठीक विपरित भएको छ ।

विगतमा टोकन प्रणालीबाट पासपोर्ट वितरण हुँदा सेवाग्राहीले विभागमै गएर टोकन लिएर निश्चित समयपछि आई प्रक्रियहरु पूरा गर्न पाउँथे । तर, अहिलेको एकमात्र विकल्प वेबसाइटबाटै अपोइनमेन्टका लागि डेट लिनुपर्ने हो । यसका लागि भने सेवाग्राही आफैंले विभागको वेबसाइटमा गएर भर्न मिल्ने विभागले दाबी गर्छ । तर, व्यवहारमा यस्तो छैन ।

विभागको वेबसाइटमा प्रयोगकर्ताहरुको अत्याधिक चाप हुने भएकाले सेवाग्राहीले त्यसभित्र प्रवेश नै गर्न नपाउने अवस्था छ । विभागको वेबसाइटमा गएर प्रयोगकर्ता आफैंले पासपोर्टका लागि डेट लिन खोज्दा कहिले धेरै प्रयोगकर्ता भएको त कहिले अन्य समस्या देखाउँदै प्रक्रिया अघि बढाउन नसक्ने हुन्छ ।

विभागले केही दिनअघि दिउँसो साढे ३ बजेबाट वेबसाइटमार्फत अपोइनमेन्ट लिन मिल्ने भन्दै सूचना जारी गरेको थियो । तर, व्यवहारमा त्यो पनि लागू भएको छैन । विभागको वेबसाइटमा हरेक दिन ३ः ३० मा प्रवेश गरेर क्लिकमाण्डु संवाददाताले पछिल्लो चार दिनदेखि पासपोर्टको निम्ति डेट लिन खोज्दा हरेक पटक प्रक्रिया नै सुरु गर्न नमिल्ने पाइएको थियो । चाहे जुन सुकै प्रदेशको जुन सुकै जिल्लाबाट होस्, विभागको वेबसाइटबाट पासपोर्टको लागि डेट लिनु असम्भव जस्तै छ । विभाग भने यो सबैलाई सर्भरको समस्या भन्दै पन्छिरहेको छ ।

सेवाग्राहीले नमिल्ने, साइबरले फ्याट्टै

यसबीच पासपोर्टको अपोइनमेन्ट डेट लिने काम गरिदिन साइबरहरु सक्रिय भएका छन् । यसका लागि उनीहरुले सेवाग्राहीबाट चर्को मूल्य असुल्ने गरेका छन् । भोलिपल्टैका लागि पासपोर्टको डेट लिनुपर्दा २० हजारसम्म, तीन दिनपछिका लागि ८ देखि १० हजार, ४ दिनपछिका लागि ५ हजार र ५ दिनपछिका लागि ३ हजारदेखि ४ हजार रुपैयाँसम्म यस्ता साइबरहरुले असुल्ने गरेका छन् ।

भौतिक रुपमा साइबर सञ्चालन गर्नेहरु मात्रै नभएर सामाजिक सञ्जालमा पनि विभिन्न पेज तथा फेसबुक ग्रुप बनाउँदै यस्तो काम भइरहेको छ । ‘ई–पासपोर्ट नेपाल’, ‘अनलाइन सेवा नेपाल’जस्ता विभिन्न ग्रुप तथा पेजहरुले निश्चित रकम लिँदै पासपोर्टका लागि डेट लिने गरेका छन् ।

विभाग मुकदर्शक, सर्भर क्षमता देखाएर उम्कने प्रयास

खुलमखुल्ला रुपमा सेवाग्राहीबाट पैसा असुल भइरहेको बोरमा राहदानी विभागलाई पनि जानकारी छ । तर, विभागले भने यस्तोमा केही गरेको छैन । विभागका सूचना अधिकारी खिमानन्द भूसाल धेरैभन्दा धेरै सेवाग्राहीहरु राहदानी विभागमै आपतकालीन पासपोर्ट बनाउँन आउँदा हालको अवस्था निम्तिएको बताउँछन् । उनी विभागलाई साइबरहरुले सेवाग्राहीबाट पासपोर्टको अपोइनमेन्ट लिनका लागि लिइरहेको शुल्कबारे जानकारी भएको र त्यसमा आवश्यक कानुनी कारबाही गर्नभन्दै नेपाल प्रहरी, अख्तियार र सिआईबीलाई पनि पत्राचार गरेको बताउँछन् ।

‘सबै जनाले आफ्नो आफ्नो जिल्लाबाट पासपोर्ट बनाउने हो भने यस्तो हुँदैन,’ उनी भन्छन्, ‘हामीसँग सीमित कर्मचारी छन् । १७ वटा ठाउँमा दिनमा १९ सयसम्म फोटो खिचिन्छ । यस्तो अवस्थामा यहाँ दैनिक हजारौं मानिस आउँछन् । सबैले जिल्लामा नै गर्ने हो भने यहाँ यस्तो हुँदैन ।’

तर, वास्तविक समस्या समाधानतर्फ भने विभागले खास केही गरेको छैन ।

विभागको आइटी विभागकाअनुसार विभागले हाल सञ्चालनमा ल्याएको ‘ई–पासपोर्ट’ सर्भसमा एक पटकमा २५ सय जनाले प्रवेश गर्न पाउँछन् । र यस्तोमा सेवाग्राहीभन्दा पहिल्यै साइबर तथा पासपोर्ट बनाइदिन्छु भन्दै पैसा असुल्ने एजेन्टहरुले वेबसाइटमा प्रवेश भएर बस्ने र फर्म खुल्ने बेलामा भर्ने गरेकाले प्रायः समयमा धेरै प्रयोगकर्ता भएकोजस्ता समस्याहरु देखिएको विभाग बताउँछन् ।

विभागको आइटी विभागका विपिन प्रसाई भन्छन्, ‘हामीले यस्तोमा गर्न सक्ने केही छैन् । कि त पहिल्यैको जस्तो टोकन प्रणालीमा जानु पर्छ । नत्र अहिले साइबरहरुले ठीक समयमा मौका छोपेर फर्म र डेट लिने काम गरेका छन् । यस्तोमा हामीले गर्न सक्ने भनेको सेवाग्राही आफैंले समय कुरेर भर्ने हो । तर, त्यसमा पनि नेपालमा इन्टरनेटको कुरादेखि चलाउन जान्ने कुरा आउँछ ।’

प्रसाईंकाअनुसार सर्भर क्षमता बढाउने वा अपोइनमेन्टका लागि लिइने डेटको समयलाई पनि परिमार्जन गरेर साता दिन वा महिना दिनसम्म बनाउन सकिन्छ । तर, त्यसो हुँदैमा पनि समस्या भने समाधान हुने हो वा होइन भन्नेमा ढुक्क हुन सकिदैंन । ‘हामीसँग विकल्प भनेको पुनः टोकन सिस्टममा जानुपर्ने देखिन्छ । वेबसाइटबाट भर्नुपर्दा साइबरहरुले नै विभिन्न उपायबाट गरिरहेका छन्’ उनी भन्छन् ।

विभागका सूचना अधिकारी भुसाल विभागले आवश्यक कारबाहीका लागि सुरक्षा निकायमा पत्राचार गरेको र सेवाग्राहीमाथि साइवरहरुले गरेको ठगीका बारेमा विभाग स्वयंले कारबाही गर्न नमिल्ने बताउँछन् । हालसम्म सेवाग्राहीबाट पैसा असुल्ने के कति साइबरलाई कारबाही भयो भन्ने प्रश्नमा विभागका सूचनाअधिकारी भुसाल भन्छन्, ‘त्यो कुरा हाम्रो सरोकारको होइन । प्रहरीलाई सोध्नुहोला ।’

तर, नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले भने आफूहरुलाई यस विषयमा विभागबाट कुनै जानकारी नआएको बताउँछन् ।

‘प्रहरी प्रधान कार्यालयमा अहिलेसम्म साइबरबाट यस्तो गरिएको छ भनेर जानकारी भएको भए हामी अनुसन्धान गथ्र्यौं, अहिलेसम्म केही आएको छैन’ राईले भने ।


युवराज भट्टराई