सहकारीको समस्यालाई हाउगुजी बनाइयो: सहकारी मन्त्री श्रेष्ठ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीमा भएको समस्याभन्दा बढी समस्या जस्तो बनाएर समस्याहरुको प्रचार गरिएको बताइन् ।

समस्यामा आएका सहकारी औंलामा गन्न सकिने भन्दै उनले राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् रहेको बताइन् ।

मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको बताइन् ।

उनले सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पारिन् ।

‘आज हाम्रो देशमा आएको सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको छ । भएकोभन्दा अझ बढी प्रचार गरेको छ । हाम्रोमा करिब करिब ३० हजारको हाराहारीमा सहकारी छ । सबभन्दा धेरै स्थानीय तह, त्यसपछि प्रदेश र संघमा छ । मुलुक संघीयतामा गइसकेपछि तीन तहमा नै हामीले सहकारीलाई व्यवस्थापन गरेका छौँ । संविधानको अनुसूचीमा नै कसरी सहकारी रहने भन्नेकुराको व्यवस्था गरेका छौँ । समस्या आएको छ । समस्यामा परेका सहकारी भनेको औंलामा गन्न सकिने मात्रै छन् । हाम्रो समाजमा नराम्रा कुराको प्रचार हुन समय लाग्दो हरनेछ । तर राम्रा कामको प्रचार हुँदैन’ उनले भनिन् ।

मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यक्ता भएको बताइन् ।

युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी ऐनहरु छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी एकीकृत कानून निर्माण गर्न पहल गरिरहेको बताइन् ।


क्लिकमान्डु