प्राविधिक जनशक्ति उत्पादन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच सम्झौता



विराटनगर । उद्योग व्यवसायले दक्ष जनशक्तिका कारण भोग्दै आएका समस्या समाधान गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्बन्धी सम्झौता भएको छ ।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उक्त सम्झौता भएको बताइएको छ ।

दुवै संस्थाबीच भएको सम्झौता अनुरुप केन्द्रले आगामी दिनमा उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकता अनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरुबीच पुलको भूमिका निर्वाह गर्ने छ । साथै समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्बन्धमा नीतिगत सुझावहरु सम्बन्धित निकायमा दिनेछ ।

उक्त क्षेत्रका नीजि क्षेत्र, तालिम प्रदायक संस्थाहरु एंव नेपाल सरकारका सरोकारवाला निकायहरुबिच निरन्तर सहजिकरण गरि जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।

दुवै संस्थाको सहकार्यमा गत वर्षदेखि संचालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसँग समन्वय गरी अप्रेन्टिसीप मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरको छ ।

संगठन र परियोजनाको समन्वयमा पि.एल.सि., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

दिगोरुपमा औद्योगिक दक्ष जनशक्ती उत्पादनका लागि समन्वय गरी प्रदेश नं. १ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिई भएको सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र वहादुर सिंहले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु