चुनावी मैदानमा वहालवाला र ४ पूर्वप्रधानमन्त्रीः झलनाथको दयनीय, अरुको अवस्था कस्तो ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । यस पटकको निर्वाचनमा ४ जना पूर्व प्रधानमन्त्री र एक जना बहालवाला प्रधानमन्त्री चुनावी मैदानमा छन् ।

बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासँगै पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी मैदानमा छन् ।

चुनाव अघि ‘नो नट अगेन’ को चर्चा भएपनि एक जनाबाहेकका अधिकांशले मतगणनामा अग्रता बनाइरहेका छन् ।

यो निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरु एक्ला एक्लै भने चुनावी मैदानमा उत्रिएनन् । पूर्वप्रधानमन्त्री ओलीले राप्रपासँग आफ्नो निर्वाचनक्षेत्रमा तालमेल गरेका छन् भने देउवा, प्रचण्ड र नेपालले भने देशव्यापी रुपमा गठबन्धन गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा–१ का उम्मेदवार हुन् । देउवासँग स्वतन्त्र उम्मेदवार सागर ढकाल लगातयका उम्मेदवार प्रतिस्पर्धामा छन् । देउवाले ढकालभन्दा ४ हजार बढीले अग्रता कायम गरेका छन् ।

हालसम्म भएको गणनामा देउवाले ९ हजार ९८७ मत प्राप्त गरेका छन् भने ढकालले ५ हजार ३०१ मत पाएका छन् । उक्त क्षेत्रबाट देउवा ५ पटक विजयी भइसकेका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् । उक्त क्षेत्रमा मतगणना भइरहेको छ ।

ओलीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीसँग मतान्तर बढाइरहेका छन् । उनी झण्डै दोब्बर मतले अघि छन् । यो समाचार तयारपार्दासम्म ओलीले १६ हजार ३३६ मत प्राप्त गरेका छन् भने कांग्रेसका अधिकारीको ९ हजार ६३७ मत प्राप्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि चुनावी मैदानमा रहेका छन् । उनी रौतहट–१ बाट निर्वाचन लडेका हुन् । नेपालले हालसम्म ८ हजार ७४३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले ८ हजार २५१ मत प्राप्त गरेका छन् । नेपाल र गुप्ताको मतान्तर घट्दै गएको छ ।

यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक गोरखा–२ बाट प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन् । उनले पनि मतगणनामा स्पष्ट अग्रता बनाइरहेका छन् ।

यो समाचार तयारपार्दासम्म प्रचण्डले ७ हजार २७८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अब्दुस मियाले १ हजार ६९८ मत प्राप्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीहरुमध्ये तीन पूर्व प्रधानमन्त्रीहरु हालसम्म भएको मतगणनामा अग्रस्थानमा रहेका छन् । तर नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने पछि परेका छन् ।

इलाम–१ बाट उम्मेदवारी दिएका खनालले ६ हजार ८४१ मत पाएर दोस्रो स्थानमा रहेका छन् । उनलाई पछि पार्दै नेकपा एमालेका महेश बस्नेतले ८ हजार ५३ मत पाएका छन् ।


क्लिकमान्डु