कांग्रेसले खोल्यो खाता, मुस्ताङमा २९ वर्षका पर्यटन व्यवसायी गौचन निर्वाचित



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङबाट कांग्रेसले यस निर्वाचनको खाता खोलेको हो ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । योगेश रोमी गौचनका छोरा हुन् ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ ।

कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन् । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बनेका छन् ।

जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका उनी नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोएका थिए । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बनेका थिए । उनी पार्टीको साविक लेते गाउँसभापति पनि बनेका थिए । हाल पार्टीको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा रहेका छन्।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्छन् । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा छन् ।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए । दोस्रो पटक सांसद् छिर्ने प्रेमको योजना योगेशले असफल बनाए । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। रोमी २०७३ मा वाणिज्यमन्त्री थिए।

विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका थिए ।


क्लिकमान्डु