जलवायु सम्मेलनः क्षतिपूर्ति कोष स्थापना



एजेन्सी । गत कात्तिक २० गतेदेखि यहाँ शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन हरितगृह ग्यास उत्सर्जन घटाउन असफल भएपनि उत्सर्जनका कारण प्रभावित निर्धन राष्ट्रलाई क्षतिपूर्ति उपलव्ध गराउने कोष स्थापना गर्न सफल भएको छ ।

नवस्थापित कोषलाई गरिब राष्ट्रहरूले आफ्नो जितका रूपमा लिएका छन् । कोषबाट बाढी, खडेरी, आँधीलगायत जलवायुजन्य क्षतिको शिकार बनेका देशलाई सहायतास्वरुप रकम भुक्तानी हुनेछ । साना टापु राष्ट्र समुद्री सतह बढेका कारण जलवायु परिवर्तनको चरम चपेटामा परेका छन् ।

कोष स्थापनापछि टुभालुका अर्थमन्त्री सेभ पेनिउले तीन दशक लामो सङ्घर्षपछि विश्वका करोडौँ मानिसलाई न्याय मिलेको तथा क्षति सम्बोधनमाा मद्दत पुगेको बताएका छन्भने पाकिस्तानका वातावरणमन्त्री शेरी रहमानले कोष दान दिने परोपकरी निकाय नभएको टिप्पणी गरेका छन् ।

त्यसअघि सम्मेलनमा उपस्थित सबै देशका प्रतिनिधिले कोष स्थापनासम्बन्धी प्रस्ताव पारित भएपछि त्यसको स्वागत गरेका थिए । कोष स्थापनाका निम्ति दिनभर प्रतिनिधिहरूबीच माथापच्ची भएको थियो । कोष स्थापनासँगै संयुक्त राज्य अमेरिका, चीन, भारत, युरोपेली सङ्घमा आवद्ध औद्योगिक राष्ट्र र समूहले क्षतिपूर्ति रकम कोषमा जम्मा गर्नुपर्नेछ ।

आजै कोप –२७ समापनको घोषणा हुनेछ । कोप–२७ अध्यक्ष इजिप्टका राष्ट्रपतिले अर्को सम्मेलन आयोजना गर्ने मुलुक संयुक्त अरब इमिरेट्सलाई अध्यक्षता हन्तान्तरण गर्नेछन् ।


क्लिकमान्डु