बंगलादेशमा विदेशी मुद्रा सञ्चिति रित्तिन लागेको हो ? आईएमएफले किन जनायो आपत्ति ?



बीबीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशको विदेशी मुद्रा सञ्चितिको हिसाब गर्ने तरिका सही नभएको बताएको छ । आईएमएफले जसरी हिसाब गर्न खोजिरहेको छ, त्यसअनुसार बंगलादेशको सञ्चिति २६ अर्ब डलर रहेको छ ।

तर, बंगलादेश बैंकका गभर्नर अब्दुर रउफ तालुकदारले नोभेम्बर ९ मा आईएमएफका प्रतिनिधिहरूसँगको बैठकपछि मुलुकसँग हाल ३४.३ अर्ब डलरको विदेशी मुद्रा सञ्चिति रहेको बताए । त्यसबाट ८ अर्ब डलर कटाएर बाँकी रहेको रकम नै खुद विदेशी मुद्रा सञ्चिति हो । यस सन्दर्भमा खुद सञ्चितिको मात्रा २६.३ अर्ब डलर रहेको उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा तालुकदारले आईएमएफले देशको विदेशी विनिमय सञ्चिति कुलको सट्टा नेटमा देखाउन भनेको छ । यसमा हाम्रो कुनै आपत्ति नरहेको बताएका छन् ।

विश्वका सबै देशहरूमा केन्द्रीय बैंकसँग रहेको विदेशी मुद्राको सञ्चितिलाई देशको नेट रिजर्भ मानिन्छ । तर, बंगलादेशमा अहिलेसम्म रिजर्भ गणना गर्दा नेट रिजर्भसँगै विभिन्न वस्तुमा लगानी वा रिजर्भबाट ऋणस्वरूप दिएको डलर पनि जोडेका छन् । बंगलादेश बैंकको पछिल्लो तथ्यांकअनुसार मुलुकमा कुल विदेशी विनिमय सञ्चिति ३४ अर्ब २३ करोड डलर रहेको छ ।

आईएमएफले यसमा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय नियमअनुसार बंगलादेश बैंकले प्रयोगका लागि राखेको जति रिजर्भ रकम हो त्यति नै राख्नुपर्ने जनाएको छ । बंगलादेशले अहिले रिजर्भमा राखिएको सञ्चितिको मुद्राबाट सही सन्देश नजाने आईएमएफले जनाएको छ ।

बंगलादेश बैंकका प्रवक्ता अबुल कलाम आजादले बंगलादेशले ग्रस र नेट दुवै हिसाबले खाता राख्दै आएको बताए । उनकाअनुसार रिजर्भ ग्रसलाई पनि सञ्चितिको देखाउँदै आएका थिए । अब सम्बन्धित विभागले यसलाई नेट रिजर्भको रूपमा देखाउनलाई यसतर्फ काम भइरहेको छ ।

बंगलादेश बैंकका गभर्नरले बुधबार पत्रकारहरूलाई विभिन्न वस्तुहरूमा करिब ८ अर्ब डलर लगानी गरेको बताए । उनले पनि त्यो घटाएपछि खुद सञ्चिति २६.३ अर्ब डलर हुनेछ । तर, यसअघिको हिसाब किताबमा पनि देशको सञ्चिति ४८ अर्ब डलर हुँदा पनि बंगलादेशले सोहीअनुसार हिसाब किताब गरेको स्पष्ट पारेको छ ।

जसमा निर्यातकर्ताहरूलाई विभिन्न वस्तुहरूको निर्यात सहज बनाउन विदेशी मुद्रामा ऋण उपलब्ध गराउन निर्यात विकास कोष (इडीएफ) लाई ६० करोड डलर, वातावरणमैत्री उद्योगहरूमा लगानी गर्न स्थापना गरिएको हरित रूपान्तरण कोष (जीटीएफ)लाई २० करोड डलर, दीर्घकालीन वित्तीय कोषमा ३ करोड ८५ लाख अमेरिकी डलर र सोनाली बैंकमार्फत् बंगलादेश एयरलाइन्सलाई दिएको ५ करोड ८० लाख डलर पनि बंगलादेशको कूल विदेशी मुद्रा सञ्चितिको अंशको रूपमा देखाइएको जनाएको छ ।

आर्थिक संकटसँग जुध्न गत अगस्ट २०२१ मा बंगलादेशको रिजर्भबाट श्रीलंकालाई २० करोड डलर ऋण दिइएको थियो । यसअघि लगातार तीन महिना किस्तामा फिर्ता गर्ने श्रीलंकासँग कुरा भएको थियो । तर, पछि म्याद थपियो । श्रीलंकालाई दिएको २० करोड डलरको ऋण फिर्ता गर्ने दिशामा काम गरिरहेका गर्भनरले बताएका छन् ।

‘श्रीलंकाका गभर्नरसँग भेट भइसकेको छ । उनले यो ऋण फिर्ता गर्ने आश्वासन दिएका छन् । तर, लगानी गरिएको रकम वा ऋणको रकम नतिर्दा बंगलादेशको सञ्चितिको मात्रा २६ अर्ब ३ करोड डलर रहनेछ,’ आजादले भने ।

निर्यात र रेमिट्यान्स घट्दो क्रममा

बंगलादेशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत निर्यात र रेमिट्यान्स हो । तर, गत अक्टोबरदेखि यी दुवै क्षेत्रको आम्दानीमा कमी आएको छ । बंगलादेशले अक्टोबरमा १ अर्ब ६४ करोड ७० लाख अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । जुन पछिल्लो डेढ वर्षयताकै न्यून हो ।

योसँगै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष निर्यात पनि ७.८५ प्रतिशतले घटेर ४ अर्ब ३५ करोड डलरमा झरेको छ । जसका कारण वैदेशिक व्यापारघाटा थप बढेको छ । बंगलादेश बैंकको पछिल्लो तथ्याङ्कअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा वैदेशिक व्यापारघाटा ३ करोड ६१ लाख डलर रहेको छ ।

जबकी सो अवधिमा निर्यात भएको वस्तुको तुलनामा ३ अर्ब ६१ करोड डलर बढीको वस्तु आयात भएको छ । बंगलादेशको कुल व्यापारघाटा ७ अर्ब ५५ करोड डलर पुगेको छ । यस अवधिमा बंगलादेशको निर्यात र रेमिट्यान्सबाट ११ अर्ब ८० करोड डलर आम्दानी भएको छ ।

तर, आयात खर्च र विदेश जाने मुद्राको कुल रकम १९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ । अर्थात् कुल व्यापारघाटा निरन्तर बढिरहेको जनाएको छ ।

बंगलादेशको व्यापारघाटा जसरी निरन्तर बढिरहेको अवस्थामा अर्थशास्त्रीहरूले भने व्यापारघाटा पूर्ति गर्न कुनै सम्भावना नरहेको बताएका छन् ।

बंगलादेशको राष्ट्रिय संसदमा प्रधानमन्त्री शेख हसिनाले नोभेम्बर ६ मा भनेकी थिइन्, ‘हामीसँग भएको सञ्चितिबाट कम्तीमा पाँच महिनाको आयात खर्च धान्न सम्भव छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीन महिना बराबरको आयात सञ्चिति भएको पुग्छ । यति भए हामीलाई पर्याप्त छ ।’

तर, निकासी र रेमिट्यान्सबाट हुने आम्दानीमा कमी आएका कारण हालको व्यापार घाटा थप बढ्दै गएको छ । यो घाटा पूर्ति गर्न बंगलादेशको सञ्चितिबाट हरेक महिना ८३ करोड ३० लाख डलर घट्दै गएको छ ।

अर्थशास्त्री तथा अनुसन्धानकर्ता खन्दकार गोलाम मुअज्जमले आयात खर्चको तुलनामा निर्यात आम्दानी र रेमिट्यान्स बढिरहेको छैन । उल्टो घट्दै गएको छ । यसले व्यापारघाटाको खाडल बढिरहेको बताए ।

उनकाअनुसार आयात गर्न सञ्चिती रकम खर्चिनुपर्छ । तर, व्यापारघाटाको अन्तर निरन्तर बढिरहेको छ ।

‘बंगलादेश सरकारले यो घाटा पूर्ति गर्न आईएमएफबाट ऋण लिइरहेको छ । बंगलादेशको व्यापार घाटा जुन तहमा पुगेको छ । त्यो ऋणले पनि पूर्ति गर्न सकिने अवस्था छैन,’ मुअज्जमले भने ।

आईएमएफले यो घाटा पूर्ति गर्न केही सुधारको सुझाव दिएको छ । जसमा राजस्व र करको शिर्षकमा सुधार गर्न, तर्कसहित खर्च प्रणाली निर्माण गर्न, निक्षेप तथा कर्जाको ब्याजको सीमा अन्त्य गर्ने, बैंकिङ प्रणालीमा सुधार गर्न, मुद्रास्फीति नियन्त्रण र आधुनिक मुद्रा नीति तर्जुमा गर्ने, अर्थतन्त्रमा रहेका कमजोरी हटाउने, अनुगमन कडाई गर्ने जस्ता सुझाव आईएमएफले दिएको छ । साथै, व्यापार र विदेशी लगानी आकर्षित गर्न र मानव सीप आदि अभिवृद्धि गर्न अनुकूल वातावरण सिर्जना गर्ने जस्ता सुझाव दिएको छ ।

अर्थशास्त्रीहरु भन्छन्ः चार महिनामात्रै धान्ने विदेशी सञ्चिति छ

गोलाम मुअज्जमले केन्द्रीय बैंकसँग २६ अर्ब डलरको विदेशी विनिमय सञ्चिति भएकोले विभिन्न क्षेत्रमा जम्मा भएको रकम र ऋणको रूपमा दिइएको रकम जोडेर जम्मा रकम ३४ अर्ब डलर हुन्छ । तर जसरी यो मुद्रा सञ्चिति एक वर्षमा ४८ अर्ब डलरबाट ३४ अर्ब डलरमा झरेको छ । त्यो सबैभन्दा आशंकाको विषय रहेको बताए ।

गत वर्ष अगस्टमा बंगलादेश बैंकसँग ४८ अर्ब डलरको विदेशी मुद्रा सञ्चिति थियो । एशियाली क्लियरिङ युनियनमा प्रत्येक तीन महिनामा हिसाब किताब हुन्थ्यो । पछिल्लो पटक २६ अक्टोबरमा पनि हिसाब किताब भएको थियो ।

आईएमएफलगायत अन्य संस्थाबाट ऋण पाएपछि मुद्रा सञ्चितिको अवस्थामा केही सुधार आउने अर्थशास्त्रीहरु बताउँछन् । साथै, बंगलादेशसँग अहिले साढे चार महिनाको आयात धान्न सम्ने उनीहरुको भनाइ छ ।

मुअज्जम भन्छन्, ‘तर चिन्ताको विषय यो छ कि व्यापार घाटा कम गर्न हाम्रो सञ्चितिबाट हरेक महिना ८३ करोड ३० लाख डलर घट्दै गएको छ । फलस्वरूप विश्व परिस्थितिमा परिवर्तन नआए, आयात लागत घटेन, सञ्चिति यसरी घट्दै गयो भने आयात रकम कति दिनसम्म तिर्ने भन्ने सबैभन्दा ठूलो चिन्ताको विषय हो ।’

संकट समाधानका लागि सरकारले कडा कदम चाल्न आवश्यक

विदेशी मुद्रा सञ्चितिको हिसाबले बंगलादेशको अवस्था अति जरुरी क्षेत्र बाहेक कतै पनि विदेशी मुद्रा सदुपयोग गर्ने सम्भावना नरहेको अर्थविदहरू बताउँछन् ।

‘अहिले धेरै सोचेर अगाडि बढ्नुपर्छ र आयातमा कटौती गर्न आवश्यक छ । अति आवश्यक वस्तु बाहेक विदेशी मुद्रा प्रयोग गर्ने अवसर छैन,’ अर्थशास्त्री डा. खन्दकार गोलाम मुअज्जम भन्छन्, ‘सञ्चितिको प्रयोग भइरहेको आन्तरिक वस्तुहरु जस्तै– पायरा बन्दरगाहको ड्रेजिङ र नयाँ विमान किन्नेलगायत अन्य विभिन्न क्षेत्रमा अतिरिक्त खर्च भइरहेकाले कटौती गर्न आवश्यक छ ।’

तर, यसबीचमा बंगलादेश सरकारले विलासिताका सामानको आयातमा सीमित गर्ने, आयात हुने वस्तुको कडा अनुगमन गर्ने, सरकारी अधिकारी तथा कर्मचारीको विदेश भ्रमणमा प्रतिबन्ध लगाउने, विभिन्न आयोजनामा सवारीसाधन खरिदमा रोक लगाउने जस्ता निर्णय गरिसकेको छ ।

त्यतिमात्रै नभएर सरकारले सञ्चितिको लागत घटाउन रणनीति बनाउनुपर्ने मुअज्जमले बताए । विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्ने निर्यात वा रेमिट्यान्स जस्ता वस्तुहरू सरकारले अतिरिक्त वस्तुहरुमा मात्रै सञ्चिति प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे ।

त्यसैगरी सरकारले उपभोग घटाउने जस्ता केही निर्णय लिनुपर्ने, अत्यावश्यक खाद्यवस्तु बाहेक कम महत्वका वस्तु र विलासिताका वस्तुको आयातमा सीमित गर्ने बेला आएकोले सरकारले यस विषयमा कडा कदम चाल्नुपर्ने उनको भनाइ छ ।

हरेक महिना सञ्चितिबाट घट्दै गएको रकमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले महत्व दिनुपर्ने उनले बताए ।

‘विदेशी मुद्रा सञ्चितिमा निरन्तर घट्ने क्रम रोक्न आवश्यक छ । यसका लागि चाहेर पनि निकासी र रेमिट्यान्स बढ्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले आन्तरिक आयका स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्छ । जसमा राजस्व बृद्धि, अनुदानको दुरुपयोग घटाउने, खराब कर्जा घटाउन सकिन्छ,’ उनले भने ।

यसबाट एकातिर सरकारले खर्च घटाउने र आन्तरिक स्रोतबाट आम्दानी बढाउन सकिने उनको भनाइ छ । घाटाको चुनौतीलाई आन्तरिक आम्दानीबाट नै सकेसम्म सम्बोधन गर्न सकिन्छ भन्ने दिशामा सरकारले प्रयास गर्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु