गत वर्ष थपिए साढे ७ लाख करदाता



काठमाडौं । राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताए ।

यसवर्षको कर दिवसको नारा “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार रहेको छ ।

करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक शाक्यले बताए ।

“कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री बनाउने र दर्तादेखि अन्तिमसम्मको काममा करदाता भौतिकरुपमा उपस्थित हुन नपर्ने अवस्था बनाउन काम काम गरिरहेका छौं,” उनले भने ।

कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा “ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल” (टाडाट) र जर्मन सहयोग नियोगको सहयोगमा विजनेस प्रोसेस इञ्जिनियरिङ (बिपिआर) गरिरहेको छ ।

“कर प्रणालीको आधुनिकिकरण र सुधारका लागि काम भइरहेको छ । करदाताले पेसा गर्नुपर्ने विवरणको अनुसूची परिवर्तन गरेको छौँ । त्यसले गर्दा करछली कम हुने हाम्रो अनुमान छ”, महानिर्देशक शाक्यले भने ।

विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय छन् ।

विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।

विसं २०७८ असार मसान्तसम्ममा यस्तो सङ्ख्या ४० लाख ४९ हजार एक सय नौ थियो । अर्थात् गत आर्थिक वर्ष २०७८र७९ मा मात्रै सात लाख ६३ हजार छ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ ।

व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता छन् । गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर ९बी(पान०तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदाता करको दायरामा ल्याइएको विभागले जनाएको छ ।

सरकारको गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु १० खर्ब ६७ अर्ब ९५ करोड रहेको थियो । जसमा आन्तरिक राजस्वको हिस्सा मात्रै ४४ प्रतिशत बराबर रहेको छ ।

आन्तरिक तर्फ रु पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको रहेकोमा रु चार खर्ब ८३ अर्ब ४८ करोड असूली भएको थियो । जुन वार्षिक लक्ष्यको ८९ दशमलव ८८ प्रतिशत बराबर हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व वृद्धिदर १२ दशमलव ५९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा आन्तरिक राजस्वको शीर्षकगत असूलीको प्रतिशत हेर्दा सबैभन्दा बढी आयकरको ४७ दशमलव ४२ प्रतिशत योगदान रहेको छ ।

त्यस्तै, मूल्यअभिवृद्धि करको योगदान २३ दशमलव ९६ प्रतिशत र अन्तःशुल्कको योगदान २१ दशमलव ३० प्रतिशत रहेको छ ।

ब्याज करको योगदान पाँच दशमलव ११ प्रतिशत छ भने बहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा करको अंश एक दशमलव ३० प्रतिशत र शिक्षा शुल्क कर शून्य दशमलव २६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा ठूला करदाता कार्यालयबाट ३८ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयबाट छ प्रतिशत तथा आन्तरिक राजस्व कार्यालयबाट ५६ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको अनुमानित राष्ट्रिय कूल ग्राहस्थ उत्पादन ९उत्पादन मूल्यमा० रु ४८ खर्ब ५१ अर्ब ६२ करोडसँगको तुलनामा कर राजस्वको योगदान २० दशमलव २९ प्रतिशत छ । जसमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको अनुपात क्रमशः छ दशमलव ४८ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत र तीन दशमलव ४४ प्रतिशत छ ।


क्लिकमान्डु