बहुराष्ट्रिय प्रविधि कम्पनीहरुले किन निकालिरहेका छन् ठूलो संख्यामा कर्मचारी ?



काठमाडौं । विश्व श्रम बजारमा ठूलो योगदान दिइरहेका थुप्रै बहुराष्ट्रिय कम्पनीहरुमा अहिले एउटा कुरा समान भइरहेको छ ।

सामाजिक संस्था फेसबुकको माउ संस्था मेटा, ट्विटर, अमेजोन, माइक्रोसफ्टलगायतका कम्पनीहरुले अहिले आफ्ना कर्मचारीहरुलाई निकालिरहेका छन् ।

केही साताको अन्तरालमा अमेरिकी सिलिकन भ्यालीमा ठूलो उतारचढाव आएको छ । कम्पनीको सेयरहरु कम भएको देखिएका छन् भने हजारौंले आफ्नो जागिर गुमाएका छन् ।

यसरी कर्मचारीहरु निकाल्ने कम्पनीहरुमा मेटा, माइक्रोसफ्ट, स्न्याप, ट्विटरलगायतका थुप्रै सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरु छन् ।

सोमबार मात्रै न्युयोर्क टायम्सले अमेजोनले आफ्ना करिब १० हजार कर्मचारीलाई निकाल्न लागेको जानकारी सार्वजनिक गरेको थियो ।

मंगलबाट वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टकाअनुसार कम्पनीबाट ३५ सय हाराहारीमा कर्मचारीहरु निकालिएका छन् । अमेजोन इन्कअन्तर्गत रहेको ‘कर्पोरेट’ र ‘टेक्नोलोजी’ शाखाअन्तर्गतका कर्मचारीहरुलाई निकालिएको हो ।

यसअघि मेटा, फेसबुकको मुख्य कम्पनी, जोसँग इन्टाग्राम र ह्वाटसएप पनि रहेको छ, उक्त कम्पनीले आफूले नयाँ कर्मचारी नलिने जनाउँदै कम्पनीमा भएका सबै कर्मचारीहरुमध्ये करिब १३ प्रतिशतलाई निकालिएको जनाएको छ ।

कर्मचारी निकाल्ने मात्रै नभएर यीमध्येका अधिकांश कम्पनीहरुले नयाँ कर्मचारी लिने प्रक्रियालाई पनि तत्काललाई कम गर्ने वा पूर्ण रुपमा बन्द गर्ने घोषणा नै गरिसकेका छन् ।

धेरै जसो कम्पनीहरुले कर्मचारीहरुको सामूहिक कटौतीको विषयमा दिएका सार्वजनिक भनाइको पछाडि दुई प्रमुख कारणहरु रहेको बताएका छन् ।

उनीहरुले महामारीको समयमा धेरै जसो काम घरबाटै र अनलाइनमार्फत् हुने भएकाले त्यतिबेला धेरै कर्मचारी राखेको र कम्पनीमा कर्मचारी वृद्धि धेरै भएको थियो । तर, अहिले त्यो गतिमा तीव्र वृद्धि नभएकाका कारण कर्मचारीहरु कटौती गरिएको जनाएका छन् ।

दोस्रो कारणको रुपमा उनीहरुले अमेरिकामा बढिरहेको मुद्रास्फीतिका कारण विभिन्न कम्पनीहरुले आफ्नो खर्चलाई कटौती गर्न कर्मचारीको संख्यामा गिरावट ल्याउन आवश्यक रहेको बताएका छन् ।

सूचना र प्राविधिसँग सम्बन्धित कम्पनीबाट हुने कर्मचारी कटौतीको विषयमा निरन्तर निगरानी गरिरहेको लेअफ एफवाइआइकाअनुसार विश्वभरमा कोभिड १९ महामारीपछिको समयमा १३ सयभन्दा धेरै कम्पनीबाट २ लाख १७ हजार ४ सय ४ जना कर्मचारीलाई निकालिएको छ ।

कुनै समय फस्टाउँदै आएका कम्पनीहरु अहिले ठूलो मन्दीको सामना गरिरहेका छन् । तीमध्ये अधिकांशमा देखिएको प्रमुख कारण भनेको उनीहरुको सेवा र सुविधाको मागमा आएको कमी रहेको छ ।

सार्वजनिक भएका धेरै रिपोर्टहरुले महामारीको समयमा सूचना र प्रविधि क्षेत्रमा भएको तीव्र वृद्धि अहिले नभएको पाइएको छ । त्यो बेला धेरैभन्दा धेरै मानिसहरु घर भित्र भएको, महामारीका कारण भौतिक व्यवसाय बन्द हुँदा अनलाइन व्यावसायमा वृद्धि भएको र समग्रमा मानिसहरुले सामाजिक सञ्जाल, स्ट्रिमिङ प्लेटफर्म, इ–कमर्शजस्ता माध्यमहरुमा समय बिताएका थिए । जसकारण यी माध्यमहरुको माग र यसमाथि ग्राहकको संख्या पनि धेरै थियो ।

तर, महामारी अन्त्यपछि विस्तारै सबै कुरा साधारण अवस्थातर्फ उन्मुख भइरहँदा त्यो बेलामा थपिएका कर्मचारीहरुलाई कम्पनीहरुले कटौती गरिरहेका छन् ।

हाललाई महामारीको समयमा जस्तो सामाजिक सञ्जाल, भिडियो स्ट्रिमिङ प्लेटफर्म, ई–कमर्श प्लेटफर्महरुमा ग्राहकको संख्या पनि नभएको र मागमा पनि वृद्धि नभएका कारण कम्पनीहरु कर्मचारी कटौतीतर्फ लागेका छन् ।

यससँगै अमेरिका र विश्वभरमा भएको उच्च मुद्रास्फीतिका कारण कम्पनीहरुमा भइरहेका विद्युतीय विज्ञापनहरुमा पनि कटौती भएको छ । जुन यी कम्पनीहरुको प्रमुख आयस्रोत हो ।

कतिपय सामाजिक सञ्जालका माध्यमहरु त पूर्ण रुपमा यीनै विज्ञापनमा आधारित भएर सञ्चालनमा थिए । विज्ञापनदाताहरुले विज्ञापनमा कटौती गर्दा कम्पनीहरुको आम्दानीमा पनि उच्च ह्रास आएको छ । जसको परिणाम कम्पनीहरुले आफ्नो खर्च कम गर्नका लागि कर्मचारी कटौतीको निर्णयलाई अनुशरण गरेका छन् ।

हालसम्म कम्पनीहरुले गरेको कर्मचारी कटौती अमेरिकामा मात्रै सीमित छ वा विश्वव्यापी रुपमा भइरहेको छ भन्ने कम्पनीहरुले कुनै सार्वजनिक जानकारी दिएका छैनन् । तर, विभिन्न रिपोर्टकाअनुसार अहिले विश्वभर नै यस्तो भइरहेको छ ।

पछिल्लो पटक मेटाले ११ हजार कर्मचारी र ट्विटरले ३५ सय कर्मचारी कटौती गर्दा उनीहरु अमेरिका मात्रै नभएर विश्वभर रहेका क्षेत्रीय कार्यालयबाट पनि रहेको बताइएको छ । माइक्रोसफ्टले गरेको कर्मचारी कटौतीमा पनि ती कर्मचारीहरु विश्वभरबाट रहेको बताइएको छ ।

यस्तै आईटी कम्पनीहरुले आर्टिफिसिल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई बढाइरहँदा जनशक्तिलाई घटाइरहेका छन् ।

कुन-कुन कम्पनीले कति कर्मचारी निकाले ?

हालसम्मको सार्वजनिक विवरणहरुका अनुसार विश्वभरमा चर्चित सामाजिक सञ्जाल तथा इ–कमर्श प्लेटफर्महरुले आफ्ना कर्मचारीहरुलाई कटौती गरिरहेका छन् । यसरी कर्मचारी कटौती गर्ने तथा नयाँ कर्मचारी लिने प्रक्रियालाई बन्द गर्ने कम्पनीहरुमा अमेजोन, मेटा, ट्विटर, इन्टेल, स्न्याप, माइक्रोसफ्ट, एप्पल, गुगल, स्ट्राइप, लिफ्ट, बुकिङडटकम, आईरोबोट, पेलोटनलगायतका कम्पनीहरु रहेका छन् ।

अमेजोन
न्युयोर्क टाइम्सले पहिलो पटक सार्वजनिक गरेको जानकारीकाअनुसार इकमर्श प्लेटफर्म अमेजोनबाट करिब १० हजार कर्पोरेट र टेक्नोलोजीतर्फका कर्मचारीहरुलाई निकालिएको छ । कम्पनीको इतिहासमै यो सबैभन्दा धेरै संख्यामा गरिएको कर्मचारी कटौती भएको बताइएको छ ।

यता वाल स्ट्रिट जर्नलले भने कम्पनीको उच्च स्रोतलाई उदृत गर्दै कम्पनीबाट ३५ सय कर्मचारीहरुलाई मंगलबार मात्रै निकालिएको बताएको छ ।

मेटा
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालका माध्यमहरुको अभिभावक कम्पनी मेटाले आफ्नो कम्पनीमा कार्यरतमध्ये १३ प्रतिशत कर्मचारीहरुलाई निकालेको छ । यो संख्या कोभिड १९ महामारीपछि कुनै कम्पनीले कटौती गरेको सबैभन्दा धेरै संख्या हो । मेटाले केही साता यता मात्रै ११ हजार कर्मचारीहरुलाई निकालेको छ ।

मेटाका मालिक मार्क जुकरबर्गले महामारीको समयमा भएको तीव्र वृद्धिजस्तो अहिले अवस्था नभएको, विज्ञापनमा कमी आएको, मूल्य वृद्धिले मारमा पारेको र कम्पनीको खर्च कटौती गर्नका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

ट्विटर
फरक फरक सञ्चारमाध्यममा आएका फरक फरक जानकारीकाअनुसार ट्विटरले ३५ सयदेखि ३७ सयसम्म कर्मचारीलाई निकालेको छ ।

कम्पनीका नयाँ मालिक एलन मस्कले यसको स्वामित्व लिएसँगै सबैभन्दा सुरुवातमा कम्पनीका सीईओ पराग अग्रवालसहितका उच्च अधिकारीलाई हटाएका थिए । त्यसपश्चात् नोमेम्बर ४ मा उनले कम्पनीका कर्मचारीहरुलाई उनीहरुको व्यक्तिगत इमेलमा जानकारी दिँदै काममा नआउन भनेका थिए । यसरी इमेल पाउने कर्मचारीको संख्या करिब ३५ सयदेखि ३७ सय हाराहारी रहेको जनाइएको छ ।

ट्विटरमा कूल कर्मचारीको संख्या ७ हजार हाराहारीमा रहेको बताइन्छ । कम्पनीका मालिक मस्कले कर्मचारी कटौती गर्नुको कारण ट्विटरलाई नयाँ स्वरुपमा ल्याउने र खर्च कम गर्नका लागि भएको बताएका छन् ।

स्न्याप

सामाजिक सञ्जालको माध्यम स्न्याप (स्न्यापच्याटको मालिक कम्पनी)ले पनि आफ्ना कूल कर्मचारीहरुमध्ये २० प्रतिशत कर्मचारीलाई निकालेको छ । कम्पनीमा कार्यरत मध्ये ६ हजार ४ सय कर्मचारीलाई निकालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो वर्ष सबैभन्दा सुरुवातमै कर्मचारी कटौती गर्ने सूचना सार्वजनिक गर्ने कम्पनी स्न्याप नै थियो । कम्पनीका सीईओ इभान स्पीइगेलले यो विषयमा लेखेका छन्, ‘हाम्रो आम्दानीलाई बढाउने सोच्दा हामीले दीर्घकालीन फाइदालाई पनि हेर्नुपर्छ । दीर्घकालीन सफलताका लागि कर्मचारी कटौती आवश्यक थियो । अहिले विज्ञापनमा कमी आएको बेला हामी खर्च कम गर्न यस्तो निर्णयमा पुगेका हौं ।’

इन्टेल

अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले पनि आफ्नो कम्पनीका २० प्रतिशत कर्मचारीलाई निकालेको छ । कम्प्युटरको व्यापारमा आएको कमी, चिपहरुको अभाव, खर्चमा भएको वृद्धिजस्ता कारण देखाउँदै कर्मचारीलाई उक्त कम्पनीले निकालेको हो ।

इन्टेलबाट कति कर्मचारी निकालिए भन्ने सार्वजनिक गरिएको छैन । तर, इन्टेलको हबाना ल्याब्सबाट मात्रै त्यहाँ कार्यरत रहेकामध्ये १० प्रतिशत अर्थात १ सय जना कर्मचारीलाई कटौती गरिएको थियो । यो निर्णय गत अक्टोबरमा भएको थियो ।

माइक्रोसफ्ट

अमेरिकी सामाचार संख्या एक्सियोसले सार्वजनिक गरेको एक रिपोर्टकाअनुसार माइक्रोसफ्टले विश्वभरका विभिन्न क्षेत्रमा रहेका एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको छ । यस्तो निर्णयको पछाडी कम्पनीले आम्दानीमा भएको कमीलाई कारण देखाएको छ ।

एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु