विकासको मुल फुटाएर जनतालाई धनी बनाउन राजनीतिमा आएको हूँ: विनोद चौधरी



प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीको व्यस्तता निकै बढेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका चौधरी मतदाताका घरघर पुगेर उनीहरुको समस्याबारे चासो राखिरहेका छन् । र, त्यसलाई समाधान गर्ने प्रतिवद्धता जनाइरहेका छन् । आर्थिक एजेण्डालाई स्थापित गराएर जनताको जीवनस्तर उकास्ने उनको योजना छ । चुनावी दौडधुपकाबीच उद्योगी एवं उम्मेदवार चौधरीसँग क्लिकमाण्डूका पुष्प दुलालले गरेको कुराकानीः

विश्वकै धनीहरुको सूचीमा पर्ने नेपालको एकमात्र व्यक्ति हुनुहुन्छ । झन्डै ५ दशक व्यवसायमा सक्रिय भई सफलताको उचाइ चुमिसक्नुभएको छ । दुई पटक समानुपातिक सांसद पनि बन्नुभयो । नपुग्दो केही छैन । प्रत्यक्षतर्फको सांसदको उम्मेद्वार बनेर देहातका जनतासँग हात जोड्दै हिँडिरहनु भएको छ । यो सब केका लागि ?

केही उद्देश्य राखेर राजनीतिमा केही प्रभाव बनाउँछु भन्ने दृष्टिकोण छ भने एउटा प्रभाव पार्न संगठनमा पनि र जनताबाट पनि अनुमोदित हुनुपर्छ । नत्र सिस्टमले तपाईंलाई गम्भीररुपमा लिन्छ भन्ने मलाई लाग्दैन । म दुई दुईचोटी सांसद पनि भएँ, धेरै कुरा मैले प्रष्टरुपमा बलियोसँग नै राख्थे । एउटा त संसदले नै पार्ने प्रभाव प्रश्न गर्ने ठाउँमा पुगेको छ । यो राजनीतिक प्लेटफर्मलाई सबैभन्दा शक्तिशाली र प्रभावको रुपमा सञ्चालन गर्न सकियो भने एउटा राजनीतिक निर्णयले ३ करोड नेपाली प्रभावित हुन् सक्छन् । त्यो निर्णय र कार्यान्यन गर्ने क्षमतामा भर पर्छ ।

दोस्रो पुस्तालाई विकास केन्द्रीत र अर्थतन्त्र केन्द्रीत राजनीतिलाई डोर्याउने कुरा भइसक्यो । यसका लागि राजनीति र हामीजस्ता स्रोत व्यवस्थापन गरेर यो ठाउँमा पुगेकाबीचमा स्वस्थ मित्रता हुनुपर्छ । जसरी अन्य मुलुकमा भयो । भारतमा नरसिंह राव र मनमोहन सिंहबीच भयो । अन्य मुलुकमा पनि यो क्षेत्रबाट आएर राज्य संचालनको जिम्मा लिएका छन् । त्यसैले यसमा कुनै कित्ताकाट र लघुताभाष राख्नु पर्ने अवस्था छैन ।

व्यवसाय गरेर अर्बौं कमाइसकेको व्यक्तिलाई राजनीतिमा आउनुको आवश्यकता चाहीँ किन पर्यो ?

मैले लामो समयदेखिको यात्रालाई मोडेको छु । मेराअघि अबसर र चुनौति दुबै छन् । राजनीति त्यति सहज छैन । तर, सबै नीतिहरुको राजा नीति राजनीति भएकाले यहाँभित्र विकासको प्रष्ट भिजन भएका मान्छे आए भने देशले फड्को मार्छ । म देशमा विकासको मुल फुटाउन राजनीतिमा आएको हूँ ।

मैले परिवर्तनका लागि संघर्ष गरिरहेको छु । नेपाल उद्योग वाणिज्य महासंघबाट, नेपाल उद्योग परिसंघबाट पनि त्यो काम गरेँ । र, उद्योगपतिहरु देशको यति महत्वपूण अंग हो भनेर राजनीतिज्ञहरुलाई पनि बुझाउन सफल भएँ । त्यसैले त आजका दिनमा निजी क्षेत्रले यसरी फड्को मार्न सफल भएको हो ।

अहिले त राजनीति आर्थिक विकासका लागि नभए राजनीति गर्नका लागि मात्रै भयो । परिवर्तनका लागि संघर्ष गरेँ । तर त्यतिले पुगेन । र, एउटा विन्दुमा आएर राजनीतिमा आउनुपर्छ भन्ने ठानेँ । अहिलेको देशमा भएको आर्थिक अवस्था, उत्पादन घटेको र निर्यात घटेको केही न केही जिम्मेवारी मैले पनि लिनुपर्छ । त्यो हामीले राजनीतिमा प्रभाव पार्न नसकेरै भएको हो । अब राजनीतिक पार्टीलाई अर्थतन्त्र केन्द्रित बनाउनु पर्छ भन्ने सोचले राजनीतिमा आएको हुँ ।

राजनीतिक अभियान्ताले जेलनेल, सडक आन्दोलन ५०औं वर्षसम्म गरे र राज्यलाई पटकपटक एउटा संघारमा पुर्याए, जुन काम म गर्न सक्दिन । मैले मेरो जीवनको ४५ वर्ष निर्माणमा लगाएँ । देशभित्रमात्र होइन, देश बाहिर पनि देशको झण्डा फहराएँ । त्यो काम कुनै राजनीतिक अभियान्ताले गर्न सक्दैन । यो दुईवटाको समिश्रणबिना देश बन्दैन भन्ने देखिएको छ । त्यो नभएको भए हाम्रो विकास बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेनौं । त्यसलाई देखाइसक्यो । यो वर्ष त झन् १० प्रतिशत पनि विकास बजेट खर्च भएन । त्यसैले देखाउँछ । हाम्रा विकासमा भगवानले दिएका योजनाहरु कसरी प्रभावकारी रुपमा सञ्चालन भइरहेका छन् भन्ने देखाउँछ ।

हाम्रो देशका नेताहरु राजनीतिमा मात्रै केन्द्रित भइरहेको अवस्थामा राजनीतिमा आर्थिक एजेण्डा स्थापित गर्न कति सहज होला ?

निश्यच पनि । म राजनीति गर्न राजनीतिमा आएको होइन । आर्थिक विकासको जनताका आकांक्षा पूरा गर्न अबेर भइसक्यो भनेर सक्रिय राजनीतिमा आउने निर्णयमा पुगेँ । हाम्रो देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । तर, जनताको जीवनस्तर जहाँको त्यहीँ छ । जनताको जीवनस्तर उकास्न उनीहरुको खल्तीमा पैसा पुग्नुपर्छ । जुन विकास र रोजगारीले मात्रै संभव छ ।

हाम्रा दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु बने र लगभग थन्किएर बसेका छन् । पहिला बन्न कठिनाइ त्यसपछि सञ्चालनमा कठिनाइ भइरहेका छन् । त्यसमा प्राविधिक त्रुटीहरु देखिएका छन् । विमानस्थल बनिसक्यो हामी पहाड काट्दै छौं । एउटा विमानस्थल बनिसक्यो भैरहवामा त्यो साइजनै ठिक भएन र दुईवटा विमान एकैपटक ओर्लियो भने त्यो कामनै लाग्दैन रे ।

त्यसलाई पूर्णक्षमतामा चलाउनका लागि एयरलाइन्सहरुलाई कसरी ल्याउने कहाँको गन्तव्य बनाउने भन्ने महत्वपूर्ण छ । लुम्बनी यही छ, त्रिवेणी धाम यही छ, यति राम्रो क्षेत्रमा त्यो आएको छ । समग्र योजनाका आधारमा एडप बेसिसमा अरु कुनै उदेश्यबाट अभिप्रेरित भएर सम्झौता हस्ताक्षर गरेर मात्र विकास हुँदैन ।

धेरैपटक संसदमा जिल्लाको कुरा उठाएँ । संसदमा बोलेँ जनता पनि धेरै हदसम्म खुसी हुन्छन् । तर, त्यो पर्याप्त छैन । त्यो गर्नुपर्ने कुरा हो तर मेरा लागि त्यो मात्र पर्याप्त छैन । त्यहाँ उठाउँदैमा कुनै कुराको समाधान आउँछ भन्ने कुरालाई म मान्दिन ।

त्यसका लागि तपाईंले हरेक किसिमबाट रेगुलेटिङ बडीजहरु, एक्जुकेटिङ बडीजहरु, पोलिसी मेकिङ बडिजहरुलाई प्रभाव पार्नै पर्छ । प्रभाव कसरी पार्ने त्यसका विभिन्न तरिकाहरु हुन सक्छन् । र, आफू निर्णयकर्ता बन्न सक्नुपर्यो । यदि तपाईं मैले देखेको लेभलको परिवर्तन ल्याउने हो भने । त्यसबारे नि मेरो मनमा कुनै दुविधा छैन । म एफएनसिसिआईको अध्यक्ष भए, सिएनआईको अध्यक्ष भएँ । जीवनभर मैले आफ्नो क्षेत्रको आर्थिक अभियन्ताका रुपमा काम गरेँ । तर, कति हदसम्म परिवर्तन आयो आएन भन्ने कुरा नि आफ्नै एउटा विश्लेषणको विषय हो ।

तर, यो पालीको, अबको एजेण्डा भनेको यो गठबन्धन भन्नुस् वा नेपाली कांग्रेसको भन्नुस् दोस्रो पुस्ताको रुपान्तरण र देशको आर्थिक एजेण्डा नै हो । यो एजेण्डालाई उत्सर्गमा पुर्याउनुपर्छ भन्ने प्रणका साथ म आएको हुँ ।

तर, सांसद् पद त कार्यकारी होइन नि, कार्यकारी नभई तपाईंले भनेका यी सारा काम गर्न संभव छ र ?

संसदले कार्यकारी त बनाउँछ नि । संसद् आफैंमा गर्नुपर्दैन । संसदले ऐन बनाउँछ नि त । संसदले नियम बनाउँछ नि त । संसदका समितिहरुले सरकारलाई सतर्क बनाउँछ नि ।

नेपाली कांग्रेसले देशमा लामो समय शासन गर्यो । तर, जनअपेक्षा अनुरुप विकास गर्न सकेन । त्यही परम्परागत शक्तिमा आवद्ध भएर तपाईं चुनाव लडिरहनुभएको छ । कांग्रेसबाट विकास संभव छ ?

सकिन्छ भन्ने मेरो विश्वास हो । धेरै कुराहरु थुप्रिएर बसेका छन् । धेरै कुराहरु स्पष्टताका साथ म देख्न सक्छु । त्यसका समाधानहरु देख्न सक्छु । अहिलेको समयमा वडा, पालिका र प्रदेशसँग स्रोतहरु छन् । केन्द्रले पनि थप स्रोतहरु दिन सक्छ । कुनै कुरामा द्विपक्षीय मुद्दाहरु होलान् । कुटनीतिक फ्रेमवर्कभित्र तीनिहरुलाई परिचालन गर्नुपर्ने होला ।

यदि तपाईंमा स्पष्टता छ । उद्देश्यको स्पष्टता छ । तपाईंले त्यसको समस्याको बुझ्नु भएको छ, चिन्नुभएको छ । र, त्यसलाई तपाईंले खोज्न सक्नुहुन्छ भने समस्याको समाधान गर्न सकिन्छ । र हामीले यो पाँच वर्षको स्पष्ट खाका बनाएका छौं मनमा । त्यसलाई एउटा प्रतिवद्धताका रुपमा राखेका छौं ।

निर्वाचनका लागि घरदैलो अभियानमा हिँडिरहनु भएको छ । स्थानीय जनताको अपेक्षा के रहेछ ?

यहाँका जनताहरु असाध्यै सकारात्मक रहेछन् । म पनि सकारात्मक सोच्ने मान्छे हुँ । ३०औं वर्षसम्म यो ठाउँका जनताले एउटै व्यक्तिलाई जिताएर पठाए । तर, चुनाव जितेका ती नेताले यहाँको विकासमा सिन्कोसम्म भाँचेका रहेनछन् । कहिल्यै केही नगर्ने तर पटक पटक अरु कुनै न कुनै छद्म भेषमा आएर जनतालाई ठगिरहने काममा पूर्णबिराम लाग्न जरुरी छ । जनता जागिसकेका छन् । यो ठाउँ अत्यन्तै अफ्ठ्यारो स्थितिमा गरिबीबाट पिल्सिएको, घरबार नभएको, लालपुर्जा र नागरिकताका लागि छटपटाइरहेको, एउटा नागरिकताका अभावमा जवान पढेलेखेको केटो घरैमा अल्झिएर बसेका छन् । यस्तो परिस्थितिमा जनताले निकास खोजिरहेका छन् । म भनेको एउटा विकासको प्रतिनिधि पात्र हुँ, मलाई त्यही पात्रको रुपमा उनीहरुले मलाई हेरेका छन् । एक महिनाको दौरानमा मैले उहाँहरुबाट पाएको समर्थन र विश्वास मेरा लागि अभूतपूर्व हो । र, त्यो सबैभन्दा ठूलो पूँजी हो । म यो बाटोमा लागिरहन्छु । यो ठाउँका जनताले यसपाली आफ्नो प्रतिनिधि परिवर्तन गर्न खोजेका छन्, त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हूँ ।

हाम्रो सामाजिक ‘स्कुलिङ’ नै धनी मान्छेहरु खराब हुन्, शोषक हुन्, शामन्त हुन् भन्ने छ । यस्तो मानसिकता भएको समाजमा तपाईं प्रत्यक्ष चुनाव लड्दै हुनुहुन्छ । जनताको मानसिकता परिवर्तन भएन भने त तपाईंलाई चुनाव जित्न गाह्रो पर्ला नि होइन र ?

हाम्रो स्कुलिङ नै मानिसहरुले धन कमाउनुलाई राम्रो होइन भन्ने भयो । धन कमाउनु भनेको त मुलुकका लागि हो । मुलुकभित्र कमाएको पैसा त कतै जाँदैन नि । तर, अबको नयाँ पुस्ता त्यसमा पनि ४० वर्ष उमेर समूहभन्दा कम उमेरका युवामा त्यो सोच छैन । चेतनाको स्तर निकै राम्रो छ । हाम्रा युवा र विश्वका कुनै पनि देशका युवाको सोचमा फरक छैन । चुनावमा लाखौं युवा मतदाता भएकाले उहाँहरुले मलाई बुझ्नुहुन्छ भन्ने विश्वास छ ।

राजनीतिज्ञहरु पनि आफूभित्र खोक्रो भएर बाहिर गएर जति चिच्याए पनि केही हुँदैन । सबै जनता आर्थिकरुपमा सम्पन्न हुनुपर्छ । त्यसका लागि बौद्धिकरुपमा सम्पन्न हुनुपर्छ । हामीले गाउँगाउँमा स्कुल त बनायौं । तर, त्यो शिक्षा चैं दिन सकिएन । म राजनीतिमा आउनुको कारण पनि समाजमा आर्थिक क्रान्तिको जागरण ल्याउनलाई हो । लाखौंलाई धनी बनाउनु हो ।

तपाईंको प्रतिस्पर्धी हृदयेश त्रिपाठीजी चतुर राजनीतिक खेलाडी हुनुहुन्छ । २५/३० वर्ष यो क्षेत्रबाट सांसदमा निर्वाचिन भइसक्नुभएको छ । तपाईंसँग आम चुनाव उठेको अनुभव पनि छैन । यस्तो अवस्थामा आफ्नो पक्षमा निर्वाचनको परिणाम आउँछ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

हृदयेशजीले चुनाव जितेर यहाँको विकास गर्नु भएन । यहाँका किसानका यावत समस्याहरु छन् । उखु किसानले भुक्तानी नपाई माइतिघर मण्डलामा धर्ना बस्दा उहाँ मन्त्री हुनुहुन्थ्यो । तर, उहाँले किसानका समस्या समाधान गर्न कुनै भूमिका खेल्नु भएन । खानेपानी र सिँचाईंको समस्या छ । त्यसमा उहाँ न केही गर्नुहुन्छ, न केही बोल्नुहुन्छ । त्यसैले हृदयेशजीसँग यहाँका जनता आजित भएका छन् । जनताले हृदयेशलाई पटक पटक हेर्यौं, एकपटक बिनाद चौधरीलाई हेरौं भन्ने अभियान नै चलाएका छन् । जसले मलाई चुनाव जित्न धेरै सहज छ।

नवलपरासीसँग मेरो अत्यत्नै घनिष्ट सम्बन्ध छ । ४ दशकअघि नवलपुरमा मैले औद्योगिक ग्राम स्थापना गरेको छ । अहिले आएर जिल्ला टुक्रिँदा मैले उद्योग स्थापना गरेको भन्दा अर्को क्षेत्रमा पार्टीले उम्मेद्वार बनाएर पठाएको छ । स्थानीय उत्पादनमा आधारित रहेर उद्योग खोल्ने काम यहाँ पनि शुरु भइसकेको छ । मेरो निर्वाचन क्षेत्रमा १ लाख १० हजार मतदाता छन् । मेरो आगमनले उनीहरुमा ठूलो उत्साह र आशा पलाएको अनुभूति गरेको छु । आत्मविश्वासका साथ हामी भारी मतान्तरले चुनाव जित्छौं । छरिएर बसेका शक्तिहरुलाई पनि एक ठाउँमा जोड्छौं र विकासको बाटोमा नयाँ वातावरण बनाउँछौं ।

अब तपाईंलाई उद्योगीका रुपमा होइन कि राजनीतिक नेताका रुपमा चिन्दा भयो ?

हो । अब म उद्योगी कम राजनीतिज्ञ बढी हूँ भन्न रुचाउँछु । एउटा उद्योगीका रुपमा गर्न सकिने जति काम गरिसकेको छु । यो भन्दा बढी गर्न राजनीतिमा आएको हूँ । मलाई अब धन कमाउनु छैन । देशको मुहार फेर्ने मन छ । जब म समानुपातिकोटाबाट सांसदमा प्रवेश गरेँ त्यसबेला देखि नै बिजनेशको कार्यकारी भूमिका छोडिसकेको छु । बिजनेश हाँक्न नयाँ पुस्ताको प्रोफेसनल टिम तयार भइसकेको छ । म रणनीतिक भूमिकामा मात्रै छु । मेरो काँधमा ठूलो जिम्मेवारी छ । मानिसको ठूलो आशा छ । जसले मलाई भोट दिनेवाला छन् उनीहरूले मलाई विश्वास गरेर दिने हुन् । जनताले दिएको जिम्मेवारी निभाउनू मेरो पहिलो दायित्व हुनेछ । म बोलेका कुरा पूरा गर्ने मान्छे हूँ । पूरा गर्न नसकिने कुराहरु बोल्दै बोल्दिन । चौधरी ग्रुपलाई देश विदेशमा फैलाएर आफूलाई प्रमाणित गरिसकेको छु । राजनीतिमा जनताको मन जित्न एउटा कुरा बोलिन्छ । तर, जितिसकेपछि अर्कै काम गर्ने प्रवृत्ति हावी छ । म त्यो अन्त्य गर्छु ।

चुनावी अभियानमा तपाईंले आफ्नो करोडौं पर्ने गाडी सम्पर्क कार्यालयमै थन्क्याएर मोटरसाइकल चढेर जनताको घरदैलोसम्म पुग्नुभयो । कतिपयले यसलाई चुनाव जित्ने स्टण्ड हो भन्दै आलोचान पनि गरे । के चुनावपछि पनि यसरी नै मोटरसाइलक चढेर जनताको घरदैलोमा पुगेको देख्न पाइएला ?

म सामान्य परिवारको मान्छे हूँ । आफ्नै जीवनकालमा कडा परिश्रमले धनी बनेको हूँ । सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको व्यक्ति होइन । सरकारी विद्यालय पढेको, सार्वजनिक यातायात चढेको र सामान्य झुपडीमा बनेको अनुभव छ मसँग । अहिले निर्वाचनमा जनताको घरदैलोमा पुग्दा ती पूराना दिनहरु स्मृतिमा आएका छन् । जनतासँग भलाकुसारी गर्न पाउँदा निकै खुसी लागेको छ । यहाँका जनताको गुनासो के रहेछ भने आफूले जितेर पठाएको व्यक्ति फर्किएर नआइदिने । आए पनि अर्को चुनावमा भोट माग्न मात्रै आउने । मैले चुनाव जितेपछि पनि यो क्षेत्रमा आउनका लागि आधारहरु तयार पारिसकेको छु । मंसिर ४ गतेपछि पनि तपाईंले मलाई यो क्षेत्रमा यसरी नै हिँडेको देख्न सक्नुहुन्छ । किनभने यहाँका जनतासँग मेरो मन जाडिएको छ । दुखसुखमा म उहाँहरुसँगै हुन्छु ।

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि तपाईंसँग के कस्ता एजेण्डाहरु छन् ?

मेरो निर्वाचन क्षेत्रलाई विकास र समृद्धिमा लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रुपमा स्थापित गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ । त्यस्तै, यस निर्वाचन क्षेत्रभित्र पर्ने सडक (पूर्व-पश्चिम राजमार्ग, हुलाकी सडक, पालिका एवं भन्सार नाका जोड्ने भित्री सडकहरु र बाटोघाटो) स्तरीय बनाइनेछ । यस निर्वाचन क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षालयको स्थापना एवं सञ्चालनका साथै स्नातकोत्तर अध्ययनको व्यवस्था मिलाइनेछ । सरकारी विद्यालयमा डिजिटल क्लासरुम र ई-पुस्तकालयको व्यवस्था गरिनेछ । हरेक नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइने छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्न विभिन्न स्वरोजगारमूलक तालिमका साथै सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै, श्रृजनशील व्यावसायिक सोच भएका तर पूँजीको अभावमा आफ्नो सोच कार्यान्वयन गर्न नपाएका युवाहरुलाई ‘स्टार्टअप फण्ड’सँग जोडिनेछ । सूचना प्रविधिसँग सम्बन्धित परियोजनाहरुलाई कार्यान्वयनमा लैजान युवाहरुका योजनालाई राष्ट्र बैंकको नीति बमोजिम बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा लगानी गर्ने वातावरण मिलाइनेछ । वैदेशिक रोजगारीमा गएका वा जान बाध्य हुने युवाहरुलाई स्थानीय तहमै रोजगारी एवं स्वरोजगारीका अवसरहरु उपलब्ध गराई आफ्नै जन्मथलोमा बसेर आयआर्जन गर्न पाउने वातावरण तयार गर्नेतर्फ दरिला कदम चालिनेछ । यो निर्वाचन क्षेत्रलाई केराखेती विशेष क्षेत्रका रुपमा स्थापित गरिनेछ ।

त्यस्तै, केरा उत्पादक किसानहरुलाई प्रत्यक्ष लाभको सुनिश्चितताका लागि केरामा आधारित उद्योग स्थापना गर्न आवश्यक सहजीकरण गरिने छ । यसबाट किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाउने हालको परिस्थितिको अन्त्य भई यसबाट केराखेती व्यवसाय प्रवद्र्धन हुनेछ । यस निर्वाचन क्षेत्रमा भारतमा निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ औद्योगिक ग्राम स्थापनाका लागि विशेष पहल लिइनेछ । यसबाट यहाँको बेरोजगारी समस्या समाधानमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । साथै यो क्षेत्र निर्यात प्रवद्र्धन विशेष क्षेत्रका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

यस निर्वाचन क्षेत्रका महिलाहरुलाई लक्षित गरेर महिला सीप विकास एवं लघु उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ । नागरिकका समस्या समाधानका लागि सहजीकरण गर्न निर्वाचन क्षेत्रमा सांसदको सचिवालय स्थापना गरिनेछ भने केन्द्रमा सम्पर्क कार्यालय स्थापना गरिनेछ । त्यस्तै, उखु किसानले हाल भोग्दै आएको भुक्तानीको समस्या अन्त्य गरिनेछ । साथै किसानलाई उखुको उचित मूल्य र बजार सुनिश्चितताको व्यवस्था मिलाइनेछ । किसानलाई नगदे बालीमा प्रोत्साहन गरी दीर्घकालीन आयको सुनिश्चितता गर्ने वातावरण तयार गरिनेछ ।

सिचाइँमा आधारित धान, गहुँलगायतका परम्परागत खेतीलाई व्यवसायीकरण गरी किसानको आयआर्जनको दीगो वातावरण मिलाइनेछ । साथै सिचाइँ व्यवस्थापनमा रहेको हालको समस्यालाई समाधान गर्नेतर्फ आवश्यक पहल गरिनेछ । किसानले वर्षौंदेखि भोग्दै आएका रसायनिक मल, बीउबिजनको समस्यालाई अन्त्य गर्न माग अनुसारको आपूर्ती गर्ने व्यवस्था मिलाइनेछ । आर्सेनिकका कारण शुद्ध खानेपानीको समस्या व्यहोरिरहेका नागरिकहरुलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने कामलाई दु्रत गतिमा अगाडि बढाइने छ । कुनै दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएका यस निर्वाचन क्षेत्रका नागरिकलाई कृत्रिम हातखुट्टाको निस्शुल्क व्यवस्था मिलाउन उनीहरुलाई ‘सवल केन्द्र’सँग जोडिनेछ ।

सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको सहजता र गुणस्तरलाई विशेष प्राथमिकता दिई आमनागरिकले बिना कुनै झन्झट सेवा पाउने वातावरण तयार गरिनेछ । भारतसँग जोडिएका यी नाकाहरुमार्फत् नेपाल(भारतबीच आयात निर्यात व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार र भारत सरकारबीच कुटनीतिक पहल गरिनेछ । सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गरिनेछ । सम्बन्धित निकायबाट सहजरुपमा जग्गाधनी प्रमाणपत्र पुर्जा दिलाउन पहल गरिनेछ ।

पर्यटन प्रवद्र्धन गर्न यस क्षेत्रभित्र रहेका र योसँग जोडिएका त्रिवेणीधाम, रामग्राम, बुद्धमंगल ताल, कञ्चनगढी, संसारीकोट, त्रिनेत्रधामलगायत अन्य धार्मिक एवं पर्यटकीय स्थलहरुको अध्ययन गरी पूर्वाधार विकासमा जोड दिइनेछ । सीमा क्षेत्रमा रहेका केही नेपाली भूमि गुगल म्यापमा भारततर्फ देखिने गरेका कारण स्थानीयले बैंक तथा वित्तीय संस्थाबाट उक्त जग्गा धितोमा राखी ऋण नपाउने अवस्था छ । उक्त समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्था एवं सरकारको सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र समाधान गरिनेछ ।

त्यसैगरी, पिछडिएका मुसहरका लागि आवासको उचित व्यवस्था मिलाइनेछ । डुबानबाट प्रभावित घरधुरीको वास्तविक अवस्था अध्ययन गरी सुरक्षित आवासको वैकल्पिक व्यवस्थाका लागि पहल गरिनेछ । खेलकुदको विकास गर्न रंगशाला लगायत विभिन्न कार्यक्रमहरु तय गरिनेछ । गण्डक परियोजना अन्तर्गत १५ मेगावाट क्षमताको हाइड्रोपावरले हाल अधिकतम ३ मेगावाटमात्र उत्पादन गरिरहेको अवस्था छ । यस परियोजनाबाट पूर्णक्षमतामा विद्युत् उत्पादन गर्न नेपाल र भारततर्फका सम्बन्धित निकायहरुसँग समन्वय गरी विद्यमान समस्याको समाधान गरिनेछ । संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरी यी सब कामहरु प्रभावकारी कार्यान्वयनमा ल्याइने छ ।


क्लिकमान्डु