निर्वाचन खर्च दोब्बर बढ्योः स्थानीय तहमा प्रतिमतदाता ६६६, प्रदेश र प्रतिनिधिसभामा १११४ रुपैयाँ



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश निर्वाचनमा २० अर्ब ४ करोड रुपैयाँ खर्च हुन लागेको छ ।

सरकारले प्रतिनिधी र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न प्रति मतदाता १ हजार ११४ रुपैयाँ गर्ने गरी निर्वाचन आयोग र सुरक्षा निकायलाई स्रोत सुनिश्चितता प्रदान गरेको हो ।

स्थानीय तह निर्वाचनमा भने प्रतिमतदाता ६६६.५२ रुपैयाँ खर्च भएको थियो । यसपटकको निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च बढेपछि प्रतिमतदाता लागत बढेको हो ।

प्रतिनिधी र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ खर्च गर्ने स्वीकृति प्रदान गरेको अर्थ मन्त्रालयले सुरक्षा निकायलाई पनि १० अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने स्वीकृति दिएको छ ।

निर्वाचन सुरक्षाका लागि भन्दै गृह मन्त्रालय मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ९ अर्ब १ करोड रुपैयाँ, रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई ९७ करोड ७३ लाख रुपैयाँ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने सहमति दिइएको छ ।

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने दोब्बर बढी रकम खर्च गर्ने प्रस्ताव गरेको हो । सुरक्षा निकायले पनि स्थानीय तहको निर्वाचन भन्दा यस पटक बढी रकम खर्च गर्न लागेका छन् । सुरक्षा निकायले स्थानीय तह निर्वाचनमा ६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका थिए ।

सरकारले स्थानीय तह निर्वाचनमा नयाँ सवारी साधान खरिद गर्न रोक लगाएपछि सुरक्षा खर्चमा कटौति भएको थियो । आयोग र सुरक्षा तर्फ स्थानीय तह निर्वाचनमा ११ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनमा एउटा मात्रै निर्वाचन प्रणालीबाट मतदान भएको थियो । यस्तै, स्थानीय तहको निर्वाचनमा मतदाताले एउटा मतपत्रमा मात्रै मतदान गरेका थिए ।

यसपटक भने पहिलो हुने निर्वाचित हुने र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणालीबाट मतदान हुनेछ । त्यसैगरी, मतदाताले प्रदेश र संघको समानुमातिक र प्रत्यक्ष गरी ४ वटा मतपत्रमा मतदान गर्नु पर्ने भएकाले निर्वाचन खर्च बढेको आयोगका एक अधिकारी बताउँछन् ।

प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने लागेका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।


क्लिकमान्डु