राजस्व छल्ने २ जना विरुद्ध सवा ४५ करोड माग दाबी गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने २ जना विरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी गर्र्दै मुद्दा दायर गरेको छ ।

विभागका अनुसार सर्लाही जिल्ला व्रम्हपुरी नगरपालिका–२, सखुवाबा, हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपराइटर प्रविण कुमार महतो र बारा जिल्ला भवानीपुर नगरपालिका–८ को युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोपराइटर आत्मराम पासवान विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।

विभागका अनुसार अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोप्राईटरले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको छ ।

विभागले मूल्य अभिवृद्धि कर तर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपयाँ र आयकर तर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ सहित कुल विगो २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरेको र उक्त रकम असुल गरी शत प्रतिशत जरिवाना असूल गर्न उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।


क्लिकमान्डु