करेन्ट चाउचाउ बेच्ने यशोदा फुड्सले एकै वर्ष गर्यो साढे ३ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा करेन्ट ब्रान्डको चाउचाउ बेच्ने यशोदा फुड्स प्रालिले एकै वर्ष साढे ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१७ देखि उत्पादन शुरु गरेको कम्पनीले चाउचाउ र स्न्याक्स उत्पादन गर्दै आएको छ । रुपन्देही तिलोत्तमामा रहेको कम्पनीले वार्षिक २० हजार मेट्रिक टन चाउचाउ र स्न्याक्स उत्पादन गर्दै आएको छ ।

कम्पनीले करेन्टसँगै लाली ब्रान्डमा आफ्ना उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ४ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ९३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार अहिले देशका सातै प्रदेश, जिल्ला र शहरहरुमा उत्पादनहरु बिक्री गरिरहेको छ । त्यस्तै, देशभर २५० आधिकारिक बिक्रेता रहेको कम्पनीको भनाइ छ । साथै, कम्पनीले डिपार्टमेन्ट स्टोर र सुपर मार्केटमा प्रत्यक्ष बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको आम्दानी प्रत्येक वर्ष २८ प्रतिशतले बढ्दै गएको जनाएको छ । कम्पनीको सन् २०२२ मा व्यापार बढेपनि नाफा भने घटेको देखिन्छ । सन् २०२१ मा १६.७९ प्रतिशतले नाफा कमाएको कम्पनीले सन् २०२२ मा ८.३६ प्रतिशत मात्रै नाफा कमाएको छ ।

सन् २०२२ मा कच्चा पदार्थको मूल्य बढेकाले नाफा कम कमाएको कम्पनीको भनाइ छ । कम्पनीले आन्तरिक उत्पादनसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट कच्चा पदार्थ आयात गरी खाद्यान्न उत्पादन गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२२ मा आम्दानी गरेकोमध्ये ९४ प्रतिशत चाउचाउको रहेको छ ।


क्लिकमान्डु