अर्बपतिको पैसामा बिक्यो भन्ने कलंकको भारीबाट बच्न चुनाब उठेको हूँः हृदयेश त्रिपाठी



शनिबार बिहान नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ अन्तर्गतको पञ्चनगरमा उक्त क्षेत्रका उम्मेदवार हृदयेश त्रिपाठी घरघर पुगेर मत मागिरहेका थिए । करिब ३० वर्षदेखि उक्त क्षेत्रमा निर्वाचन जित्दै आएका उनी मंसिर ४ को निर्वाचनमा आफ्नो पक्षमा मत खसाल्न मतदाताहरुलाई हात जोड्दै मत मागिरहेका भेटिए ।

पाँचपटक निर्वाचित भइसकेका जनता प्रगतिशिल पार्टीका अध्यक्षसमेत रहेका त्रिपाठी यसपटक नयाँ चुनाव चिह्नसहित मैदानमा उत्रिएका छन् । गत संघीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धामा उत्रिएका उनी यसपटक भने उक्त चुनाव चिह्नबाट नभइ नयाँ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् । एमाले नेतृत्वको गठबन्धनको साथ पाएका त्रिपाठीलाई यसपटक सत्ता गठबन्धनबाट उद्योगीसमेत रहेका कांग्रेस नेता विनोद चौधरीले चुनोती दिएका छन् ।

पटकपटक जितको झण्डा फहराउँदै आएका उनलाई यसपटक निर्वाचन जित्न कठिनाइ हुने सम्भाना रहेको आकलन भइरहँदा हामीले त्रिपाठीसँग उनकै निर्वाचन क्षेत्रमा पुगेर केही प्रश्न गरेका छौं । प्रस्तुत छ त्रिपाठीसँग क्लिकमाण्डूका लागि कश्यप न्यौपाने र युवराज भट्टराईले चुनावी अवस्थाबारे गरेएको कुराकानी:

तपाईं यही निर्वाचन क्षेत्रबाट चार/पाँच चोटी चुनाव जितेर सांसद् भइसक्नु भएको मान्छे । पटक पटक मन्त्री पनि हुनुभयो । पहिलाको र अहिलेको अनुभवमा के फरक छ ?

पहिला पहिला राजनीतिक कार्यकर्तासँग प्रतिस्पर्धा हुन्थ्यो । यसपटक देशकै सबैभन्दा धनाड्य व्यक्तिसँग प्रतिस्पर्धा हुने भएकाले राजनीतिक विचार विमर्शको अभाव मैले अनुभव गरिरहेको छु ।

अर्को जो उम्मेद्वार हुनुहुन्छ, उहाँ राजनीतिकरुपमा साह्रै नादान हुनुहुन्छ । किनभने, नेपालको राजनीतिको कुनै पनि प्रगतिशील आन्दोलनमा उहाँको भूमिका छैन । जुन किसिमको राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने हो, त्यो नभएका कारण अलिक खल्लो भएको छ ।

यो त भयो राजनीतिक आरोप । चौधरीसँग गणितीय प्रतिस्पर्धा तपाईंका लागि कतिको सहज छ ?

यो ठाउँका लागि बिनोद चौधरीजी अपरिचित मान्छे हो । यहाँ उहाँको आर्थिक, सामाजिक र राजनीतिक कुनैपनि किसिमको लगानी छैन ।

उहाँले जहाँ लगानी गर्नु भएको थियो, त्यहाँ चुनाव लड्नु भएन । यहाँ अलि सोझा सरल र इमान्दार मान्छे छन् । चौधरीजी पाहुनाको रुपमा आउनु भयो । हामी स्वागत गर्छौं । पाहुना भनेको स्वागत लिएर घर फर्किने हो । त्यसका लागि उहाँ तयार भएर बसे हुन्छ ।

तर, तपाईंका प्रतिस्पर्धी उम्मेद्वार बिनोद चौधरीले ‘ऋदयेष त्रिपाठीले पठक पठक चुनाव जितेर पनि यो ठाउँको विकासका लागि केही पनि गरेनन् । मलाई जिताउनु म विकासको मुल नै फुटाउछु,’ भनेर मतदातासँग मत मागिरहनुभएको छ । हामीले केही मतदातासँग कुरा गर्दा पनि यसपटक नयाँ अनुहार जिताउनुपर्छ भन्ने भावना देखियो । पटक पटक सांसद् र मन्त्री हुँदा पनि जन अपेक्षाअनुसार काम गर्न नसक्नु त तपाईंको असफलता होइन र ?

उहाँले भन्नु स्वभाविक हो । उहाँ दुई पटक सांसद् बसिसकेको मान्छे । १० वर्ष मसँगै हुनुहुन्थ्यो । त्यसैले, दुई पटक सांसद् हुँदा उहाँले जुन ठाउँबाट प्रतिनिधित्व गर्नु भएको थियो, त्यहाँ भएको एउटा विकासको काम मलाई देखाइदिनु पर्यो ।

उहाँकै परमपुज्य शशांक कोइराला पनि छेउमै हुनुहुन्छ । उहाँले गरेको काम देखाइदिनु पर्यो । उहाँका अर्का सहकर्मी देवेन्द्र राज पौडेल पनि हामीसँगै हुनुहुन्छ । तर, त्यहाँका अस्पताल, स्कुल र सडक हामीलले बनाइदिनु परेको छ । त्यसकारणले, बरु उहाँलाई उद्योग लगाउनका लागि हामीले आधार बनाइदिएका छौं । यहाँ बिजुली छ, सडक छ, पानी छ । सबै छ । त्यो काम गरे हुन्छ । उहाँ यहाँको विकाससँग पनि अपरिचित हुनुहुन्छ ।

तपाईंले चौधरीजीलाई गैरराजनीतिक व्यक्ति भन्नुभयो । पछिल्लो समय मतदाताले राजनीतिक व्यक्तिभन्दा गैरराजनीतिक व्यक्तिलाई रुचाउन थालेको देखिन्छ । उदाहारणका लागि काठमाडौं महानगरमा बालेन शाहको उदय । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

उहाँ राजनीतिक व्यक्ति हुँदै होइन भनेर मैले बारम्बार भनिरहेको छु । उहाँ धनाड्य हो । विश्वका धनीको सूचिमा उहाँ ३ हजारको हाराहारीमा पर्नुहुन्छ । त्यसका लागि हामीलाई गर्व छ । एउटा नेपाली कमसेकम विश्वको धनीको सुचिमा परेको छ ।

तर, राजनीति विधामा उहाँ प्रवेश गर्नु भएको छ । सहज रुपले उहाँ त एकपटक एमालेबाट पर्नुभयो, एकपटक कांग्रेसबाट पर्नुभयो । यसपटक माओवादीबाट बनेको भए हुन्थ्यो समानुपातिक हुँदा ।

तर, कता न कता एउटा उहाँलाई के सनक सवार भयो । यही निर्वाचन क्षेत्रमा उहाँको भाषण थियो, ‘म पैसाको लागि निर्वाचन लडेको होइन । मैले पदका लागि राजनीतिक गरेको होइन, किनभने यसअघि पनि दुई पटक सांसद् भइसकें ।’ख अब बन्नुहुन्छ के त त्यसो भए ? मन्त्री र प्रधानमन्त्रीमात्रै बाँकी छ । त्यो थ्रेट हामीलाई होइन । त्यो थ्रेट उहाँको पार्टीलाई हो । उहाँको आगमनसँगै कांग्रेस पार्टीका जो इच्छुक हुनुहुन्थ्यो, जो दाबेदार हुनुहुन्थ्यो, उहाँहरुलाई पाखा लगाइदिनु भयो ।

यो एउटा राजनीतिक कार्यकर्ता र धनाड्य व्यक्ति बीचको संघर्षको लडाईं हो । र, म प्रतिकका रुपमा देशभरका राजनीतिक कार्यकर्ताको तर्फबाट चुनाव लडदै छु एउटा धनाड्य व्यक्तिसँग । दलको जीत हुन्छ, एउटा मूल्यमान्यता स्थापित होला । यदि कार्यकर्ताको जीत हुन्छ भने एउटा मूल्यमान्यता स्थापित हुन्छ । त्यसैले यो मूल्यमान्यताको लडाईं पनि हो ।

पछिल्लो समय नेपालको राजनीतिक परिदृष्यमा पुराना दल र नेताप्रतिको वितृष्णा जनमानसमा देखिन्छ । अन्तराष्ट्रियस्तरमा हेर्दा छोटो समय राजनीतिक पार्टीमा लागेकाहरुलाई पनि जिम्मेवारी दिइएको छ । उदाहरणका लागि बेलायतमा हालसालै निर्वाचित ऋषि सुनकलाई हेर्न सकिन्छ । तर, हाम्रो नेपालमा चाहीँ राजतन्त्र फाल्न लड्यौं, लोकतन्त्र ल्याउन लड्यौं, यतिवर्ष जेल पर्यौं भनेर कहिलेसम्म अरुलाई अबसर नदिई आफैंले पद ओगटिरहने ?

हामीले लडेर यो व्यवस्था ल्याइदिएका छौं । र, त बिनोद चौधरी जस्ता धनाड्य व्यक्तिहरुले पनि चुनाव लड्न पाउनुभएको छ । मेरो पनि यो निर्वाचनमा उम्मेद्वार हुने मनसाय थिएन । तर, विनोद चौधरी आइसकेपछि सहजरुपमा मान्छेले के भन्छन् भने कि त यीनि डराए, कि त यीनि पैसामा बिके । त्यो कलंकको भारी भोक्नुभन्दा त चुनाव लडेर कलंकित हुनबाट बच्न अघि सरेको हुँ ।

अर्को कारण, उहाँ यहाँ आउनु भयो । उहाँलाई चुनौती दिनलाई पनि हो । यो क्षेत्र त्यत्ति सहज छैन । पैसाकै बलमा जितेर जान सकिँदैन भन्ने चुनौती हामीले दिइरहेका छौं । र, हामीले दिएको चुनौतीका कारण अर्बपति चौधरी मोटरसाइकलको पछाडि बस्न बाध्य हुनुभयो । भुईंमा बस्न बाध्य हुनुभयो । अझै कति गराउँछौं, कति ।

यो निर्वाचनका मतदातासँग कुरा गर्दा नेताहरु चुनावको बेला आउने, मिठो कुरा गर्ने र जितेर गएपछि फर्किए नआउने भन्ने गुनासो सुनियो । तपाईंले यतिका वर्षसम्म यो क्षेत्रबाट सांसद् हुँदा पनि किन जनताको विश्वास किन कमाउन सक्नुभएन ? वा, जनताको आकांक्षा नै बढी भएको हो ?

म चन्दा पुरस्कारमा सांसद् भएको होइन नि । दानदातव्यमा पनि सांसद भएको होइन । जनताले नै निर्वाचित गरेको हुनाले म सांसद् भएँ ।

दोस्रो कुरा, मैले सधैं भन्ने गरेको छु मेरो पहिलो प्राथमिकता यहाँका मतदाता नागरिकको मेरो कारणले शीर निहुराउनु नपरोस् भन्ने हो । म शुद्ध राजनीतिक व्यक्ति हो । जेल जति गएको छु राजनीतिक संघर्षको कारणले गएको हुँ ।

अहिले हामीले पुस्तान्तरण गर्ने नै हो । राजनीतिप्रति बितृष्णा होइन, पार्टीप्रति हो र पार्टीले नै ल्याइदिएका हुन् । र, यो एउटा तोरुप प्रतिक्रिया हो त्यो । जस्तो बालेन । अरु पक्ष जो कसैले गरेपनि युवाप्रति राजनीतिको साख जगाउनमा बालेनको भूमिका छ । युवाहरुलाई सिस्टमको पार्ट बनाइदियो । प्रणालीको पार्ट युवाहरुलाई बनाइदियो । युवाहरु प्रणालीभन्दा बाहिर जाँदै थिए । यो सबैभन्दा ठूलो उपलब्धी हो ।

यो प्रणालीबाट मेयर भएपछि गर्न सकिन्छ, सांसद् भएपछि गर्न सकिन्छ भन्ने जुन भावना युवाहरुमा उत्पन्न भएको छ त्यो साह्रै सकरात्मक भावना हो । नत्र युवाहरु ल्यापटप चलाएर, नेट चलाएर, एक थान गाली गरेर जिम्मेवारी पुरा भएको भन्ने सोचेका थिए । त्यो प्रतिक्रिया हो । त्यसलाई मनोवैज्ञानिक प्रतिक्रिया भन्छ ।

तर, हामी प्रणालीको हिस्सा भएर अगाडि बढ्नुपर्छ भन्ने जुन अहिले जागरुकता आएको छ, त्यो सकरात्मक छ । अर्को कारण, हाम्रो पुस्ताले विभिन्न आन्दोलन भोग्यो, आफैं गर्यो, आन्दोलन देख्यो । तर, अहिलेको पुस्ताले आन्दोलन सुनिरहेको छ । उसले विकास देख्न चाहन्छ । अब हामी कोही पनि विकासबाट भाग्न सक्दैनौं ।


क्लिकमान्डु