तराईको चर्को गर्मीमा चौधरीको दौडधूप (तस्बिरहरु)



नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा उद्योगी विनोद चौधरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् ।

निर्वाचन आउन १ साताभन्दा कम समयअघि बाँकी रहँदा चौधरी मतदाता भेटघाटमा व्यस्त रहेका छन् । चिसो मौसम सुरु भएपनि तराई क्षेत्रमा दिउँसोको समयमा पसिना छुट्ने गर्मी छ । पसिना पुछ्दै चौधरी मतदातासँग मत मागिरहेका छन् ।

नेपालकै धनी उद्योगी आफूहरुको निर्वाचन क्षेत्र त्यसमा पनि घर घर आउँदा मतदाता उत्साही देखिएका छन् ।

यसअघि लगातार निर्वाचन जित्दै आएका नेता हृदयेश त्रिपाठीसँगको चौधरीको प्रतिस्पर्धा रोचक हुने सहज अनुमान गर्न सकिन्छ । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँगको प्रतिस्पर्धा आफ्नो पक्षमा आउने दाबी गर्छन् ।

चौधरीले सत्ता गठबन्धनको साथ पाएका छन् भने त्रिपाठीलाई नेकपा एमालेसहितका दलले साथ दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन् । यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो । एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो । जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो ।

यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ । हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ ।

२०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ ।

दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद् बन्ने प्रयासमा छन् । नाम र पैसाका लागि आफूले राजनीति नगरेको भन्दै चौधरीले मतदातालाई आश्वस्त पार्न खोजिरहेका छन् ।

तस्बिरहरु


क्लिकमान्डु