सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय



काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराइन् ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् ।

महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्याइन् ।

उनले भनिन्, ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो । मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरुपण गरिन्छ । अव वडा वडामा एक हप्ताभित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु ।’

काठमाडौं महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।


क्लिकमान्डु