आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक हेरफेरको तयारी, सहमति माग्दै आयोगमा पत्र



काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरबदल गर्ने तयारी गरेको छ ।

निर्वाचन हुन १७ दिनमात्रै बाँकी रहेको अवस्थामा अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने दुई महत्वपूर्ण विभागका महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको हो ।

स्रोतकाअनुसार अर्थमन्त्रालयले केही सहसचिव सरुवाको सहमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ । आयोगले सरुवा सहमति दिएमा आजै भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेरको तयारी छ ।

गत असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागेकाले आयोगको सहमति बिना कर्मचारी सरुवा गर्न मिल्दैन ।

स्रोतकाअनुसार आन्तरिक राजस्व विभागको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख दीर्घराज मैनालीलाई दिने तयारी छ । यस्तै, अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढालाई भन्सार विभागको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतको दाबी छ ।

तेस्रोपटक महानिर्देशक फेर्ने तयारी

अर्थमन्त्री भएको १५ महिनामै जनार्दन शर्माले तेस्रो पटक आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेरको तयारी गरेका हुन् ।

अर्थमन्त्री भएपछि शर्माले २०७८ भदौ २ गते आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई विभागको महानिर्देशक बनाएका थिए ।

तर, पौडेलसँग विभिन्न विषयमा विवाद भएपछि शर्माले गत फागुन १ गते पौडेललाई अर्थमन्त्रालयबाटै सरुवा गरेर रितेश शाक्यलाई विभागको जिम्मेवारी दिएका थिए ।

तर, चालु आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन गर्न नसेकेको देखिने आरोप लगाएर शर्माले आफैंले नियुक्त गरेका शाक्यलाई महानिर्देशकबाट हटाउने तयारी गरेका हुन् ।

शाक्यले महानिर्देशकको जिम्मेवारी सम्हाल्दा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसकेकाले निर्वाचन आचारसंहिता लागेको समयमा आयोगबाट सहमति लिएर शाक्यको सरुवा गर्न लागिएको स्रोतको दाबी छ ।

यस्तै, अर्थमन्त्री भएपछि शर्माले २०७८ भदौ २ गते यमलाल भुसाललाई भन्सार विभागको महानिर्देशकबाट हटाएर नारायणप्रसाद सापकोटालाई विभागको जिम्मेवारी दिएका थिए ।

आफैंले नियुक्त गरेका सापकोटासँग सन्तुष्ट नभएपछि शर्माले गत फागुन १ गते भन्सार विभागको जिम्मेवारी कमलप्रसाद भट्टराईलाई दिएका थिए ।

तर, भट्टराईलेसमेत पूर्व प्रतिवद्धताअनुसार शर्माका लागि काम गर्न नसकेपछि बुढालाई भन्सार विभागको जिम्मेवारी दिने तयारी गरिएको छ ।


क्लिकमान्डु