स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट दिएन, विनोद चौधरी, उमेश श्रेष्ठ र विश्व पौडेलले पाए



काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसले प्रतिनिधिसभाका सदस्यका लागि टिकटबाटै बञ्चित गरेको छ । वाग्ले चितवनबाट चुनाव उठ्ने भन्दै टिकट माग्न र प्रचारप्रसारमा सक्रिय थिए ।

तर, कांग्रेस सभाापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको खेमा छाडेर डा. शेखर कोइराला खेमामा गएकाले वाग्लेलाई टिकटबाटै बञ्चित गरिएको हो । यसअघि देउवा प्रधानमन्त्री हुँदा वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । तर, पछि उनले खेमा परिवर्तन गरे ।

कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार प्रतिनिधिसभाको सदस्य उम्मेदवारको टिकट दिएको छ। यो क्षेत्रबाट एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे उम्मेदवार छन्।

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले टिकट पाएका छन् ।

पौडेल र वाग्लेबीच टिकटका लागि प्रतिस्पर्धा थियो। यो निर्वाचनमा पौडेलले टिकटमा बाजी मारेका छन् ।

त्यस्तै, कांग्रेसले व्यवसायी विनोद चौधरीलाई नवलपरासी १ बाट प्रतिनिधि सभाको सदस्यका लागि टिकट दिएको छ । चौधरी यसअघि कांग्रेसकै कोटाबाट समानुपातिक सांसद थिए।

राज्यमन्त्री समेत रहेका अर्का व्यवसायी उमेश श्रेष्ठले चितवन-२ बाट टिकट पाएका छन्।


क्लिकमान्डु